चाँदीको जलहरी मर्मतका लागि पशुपतिमा क्षमापूजा

फागुन ०९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, फागुन ९ : पशुपतिनाथ मूल मन्दिरको ज्योतिर्लिङ्गमुनि सुनको जलहरी राख्नुअघि चाँदीको जलहरी मर्मतका लागि क्षमापूजा सुरु भएको छ। क्षमापूजा गर्न दक्षिण भारतबाट २५ ब्राह्मणलाई आमन्त्रण गरिएको छ ।

क्षमापूजामा ९६ नेपाली ब्राह्मण गरी शनिबारदेखि एक सय २१ ब्राह्मणले शिव र शक्तिको आराधना सुरु गरेको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डाक्टर प्रदीप ढकालले जानकारी दिए । आउँदाे बुधबारसम्म क्षमापूजा हुनेछ ।

रणबहादुर शाहको शासनकालमा राखिएको चाँदीको जलहरी जीर्ण भएर जल, पञ्चामृतलगायत पशुपतिनाथलाई चढाइएका सामग्री चुहिएर भित्रसम्म पुग्ने गरेको थियो । वर्षौँदेखि गर्न नसकिएको मर्मत गरी त्यसमाथि सुनको जलहरी राख्नुअघि क्षमापूजा सुरु भएको हो ।

वर्षौंदेखि राखिएको चाँदीको जलहरी हटाउने भनी भइरहेको प्रचारप्रसार गलत रहेको कोषले जनाएको छ। चाँदीको जलहरी मर्मत गरी त्यसमाथि सुनको राख्न लागिएको हो । सुनको जलहरी निर्माण पनि सुरु भइसकेको कोषले जनाएको छ । एक हप्तामा सुनको जलहरी राख्ने गरी काम भइरहेको छ ।

पशुपति क्षेत्रमै कालीगढ राखेर नेपाली सेनाको सुरक्षासहित सुनको काम भइरहेको छ। मूल मन्दिरको जलहरी सुनको बनाउन संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयले ३० करोड रुपैयाँको सुन नेपाल राष्ट्र बैंकमार्फत उपलब्ध गराएको छ ।

सुनको जलहरी बनाउन एक सय आठ किलो सुन लाग्नेछ । गएकाे माघ १२ पशुपतिनाथमा लाख बत्तीसहित विशेष पूजा गर्न पुग्नुभएका प्रधामन्त्री केपी शर्मा ओलीले सुनको जलहरी राख्न कोषलाई ३० करोड रुपैयाँ बजेट दिन संस्कृति मन्त्री भानुभक्त ढकाललाई निर्देशन दिएका थिए ।

मूल मन्दिरको छाना र बसाहामा पनि सुनको लेप लगाउने गरी काम भइरहेको छ । यसका लागि झण्डै ३४ किलो सुन लाग्ने अनुमान गरिएको छ । ३० करोड रुपैयाँबाहेकको रकम कोषले आन्तरिक स्रोतबाट बेहाेर्ने जनाएको छ ।