मनमा मधेश राखेर काम थालनी गर्छु : प्रदेश प्रमुख झा

फागुन ०९, २०७७

एटुजेड अनलाइन खबर


जनकपुरधाम, फागुन ९ : प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाले मनमा मधेश राखेर कामको सुरूवात गर्ने बताएका छन्।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिबाट प्रदेश प्रमुख नियुक्त भई आइतबार साँझ पदभार ग्रहण गर्दै झाले जन्मभूमि प्रदेश २ को प्रदेश प्रमुखको रूपमा कार्य थालनी गरेकोले शीरमा देश र मन मधेशमा राखेर गर्ने बताए।

‘देश, जनता र संविधानलाई पहिलो र महत्वपूर्ण आधार बनाएर प्रदेश २ भित्रका प्रत्येक नागरिकलाई साझा, शान्त, समृद्ध र समभावसहितको समाज, जात, जन्म, स्थान वा घनत्वको आधारमा दम्भ वा भय निर्माण भइरहँदा समाज अशान्त र नागरिक असुरक्षित हुनसक्छ, त्यसैले प्रत्येक नागरिकलाई साझा र अपनत्वसहितको प्रदेश निर्माणमा मेरो भूमिका कायम रहनेछ,’ पदभार पछि झाले भने।

उनले प्रदेश २ भित्र रहेका विविधता, संस्कृतिको रक्षा, पहिचानको सम्मान, सद्भाव, विश्वास, देशप्रेम, भाइचारा र नागरिकमैत्री सरकार निर्माण गर्दै जानुपर्ने आवश्यकता रहेको बताए।

देशहित र अब्बल प्रदेश निर्माण गर्न सुशासन, साझापन, सवलीकरण र सहकार्यको विकल्प नरहेकोले कतिपय पक्षमा तत्काल सुधारको खाँचो रहेको उनको भनाई छ।