सुख्खा डाँडामा सिँचाइ, चक्लाबन्दी गरेर मकै खेती

फागुन ०९, २०७७

एटुजेड अनलाइन खबर


दाङ, फागुन ९ : हप्ता दिन अघी छरिएको मकै टुसाएको छ। बाँकी बारीमा मकै छरेर भर्खरै सकिएको छ । पहिलो पटक राजपुर–१ गुरुंग खोलामा हिउँदे मकैको छरिएको हो । गुरुङ खोला मगर टोलका स्थानीयले आकाशे पानीको भरमा बर्षमा एक वालि मकै खेति गर्दै आएका थिए । एक बालि मकैले कसरी बर्षभरी खान पुग्थ्यो र ?

सिंचाइ सुविधा भएकै कारण जग्गा जमिन बाँझै हुन्थ्यो । सुख्खा डाँडामा खोलाको पानीले सिंचाइ पुर्‍याउने कल्पना समेत गरेका थिएन । तर, अहिले यहीँ सुख्खा डाँडामा खोलाको पानीले सिंचाइ सुविधा पुगेको छ ।

खोलाको पानी लिफ्टिङ्ग गरेर मगर गाउँको १५ बिगाह जमिनमा सिंचाइ सुविधा पुगेपछि स्थानीय लालबहादुर बुढामगर दङ्ग छन् ।‘बर्षे मकैको खेती मात्रै हुन्थ्यो । त्यो पनि आकाशे पानिले साथ दिदा फल्थ्यो । नत्र त्यहीँ पनि हुदैथ्यो’बुढामगरले भने, ‘अब हाम्रो जग्गा जमिनमा सधैंभरी सिंचाइ सुविधा पुग्ने भयो ।’

सुख्खा डाँडामा सिंचाइ सुविधा पुगेपछि हिउँदे मकैको खेती गरिएको छ । गाउँको १५ बिगाहा जग्गा चक्लाबन्दी गरेर सबै जग्गामा एकैपटक मकै खेति गरिएको हो । बसन्ते मकैको बिउ उत्पादन गर्ने उदेश्यले चक्लाबन्दी गरेर मकै खेति गरिएको हो ।

सिंचाइ सुविधा पुगेपछि किसान उत्साहित भएका हुन । जसले गर्दा मकै खेतिको लागि चक्लाबन्दी कार्यक्रम सहज रुपमा सञ्चालन गर्न सकिएको छ ।

मगर बस्ति २०२६ सालदेखि यहीँ सुख्खा डाँडामा बसेको हो । बस्ती बसेदेखी यहाँ सिंचाइको सुविधा भने थिएन । यो बस्तीलाइ चारैतिर गुरुङ खोलाले घेरेपनि बस्ती भने सुख्खा थियो । अहिले सिंचाइ सुविधा पुगेपछि गाउँको मुहार फेरिएको स्थानीय बिष्णुबहादुर बुढाले बताए ।

‘सबैभन्दा पुरानो बस्ति तर, सुविधामा पछि थियो । अहिले सिंचाइ आइसकेपछी अन्नबाली उत्पादन धेरै हुने आशा छ’उनले भने, ‘खेतीपातिको लागि पानी नभइ हुदैन । पानीको सुविधा भएपछी धेरै नयाँ उपाय आफै उब्जिने रहेछन ।’

तुलसा मल्लको १२ कट्ठा जग्गा छ । यो जग्गामा बर्षमा एक पटक मुस्किलले मकै हन्थ्यो । तर, अब तुलसाले आउदो सिजनमा धान खेति गर्ने सोंच गरेकी छिन् ।‘बर्षाको सिजनमा धान खेति गर्ने योजनम छ । यो जग्गामा पहिलो पटक धान खेति गर्ने किसान म नै पहिलो हुने छु’उनले भनिन्, ‘अब आलु, तोरी, मकै, धान सजिलोसँग फलाउन सकिन्छ ।’

प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना, परियोजना कार्यान्वयन इकाई लमही मार्फत राजपुर गाउँपालिका–१ गुरुङ खोलामा लिफ्ट सिंचाइ मार्फत गुरुङ खोलाको पानीले सुख्खा डाँडामा सिंचाइ सुविधा पुर्‍याइएको हो ।

सिंचाइ सुविधा पुगेपछि पहिलोपटक कृषक व्यवस्थित चक्कलाबन्दी कार्यक्रम सञ्चालन गरेर १५ बिगाहा जग्गामा बसन्ते मकैको बिउ उत्पादन गर्न थालिएको छ ।

मकै खेतिमा गरिएको यान्त्रिकरणको माध्यमबाट चक्लाबन्दी कार्यक्रम अन्तरगत मकै छरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण कार्यक्रम कार्यान्वयन इकाई मकै सुपरजोनका प्रमुख महेश रेग्मीले जानकारी दिए ।‘सुख्खा डाँडामा कसैले पनि सिंचाइ सुविधा पुग्दैन भनेर सोंचिराख्नु भएको रहेछ ।

तर, हामीले अध्ययन गर्दा लिफ्टिङ्गको माध्यमबाट सिंचाइ पुर्‍याउने सम्भावना देखेपछि काम थालेका थियौं’ रेग्मीले भने, ‘अहिले यहाँ सिंचाइको लागि खोलाको पानी पुर्‍याउन सकिएको छ । जसले गर्दा हिउँदमा पनि मकै खेति सम्भव भएको छ ।’

गुरुङ खोला कृषक सहकारी मार्फत सुरजोनले कार्यक्रम लागू गरेको हो । दाङ जिल्लाको पाँच स्थानमा चक्लाबन्दी कार्यक्रम लागु गरिएको कार्यालयका कृषि अधिकृत कुसुम भुसालले जानकारी दिइन । गुरुङ खोला सहित ७५ बिगाह जमिनमा चक्लाबन्दी कार्यक्रम गरिएको छ ।

चक्लाबन्दीले खेती प्रणालीमा लागत कम लाग्ने, समयको बचत हुने र उत्पादन बढाउन सकिने भएकाले यसको प्रभावकारीता रहेको भुसालले बताइन ।

राजपुर गाउँपालिकाका वडा नम्बर १ का वडा अध्यक्ष बिष्णाबहादुर बुढाले सिंचाइ सुविधाले खेति प्रणालीमा नयाँ सम्भावना देखिएको बताए । तरकारी, फलफूल समेत लगाउन थालिएको उनले जानकारी दिए । वडा कार्यालयबाट उत्पादन बढाउनको लागि किसानलाई तालिम र पूर्वाधार क्षेत्रमा लगानी गर्ने प्रतिबद्धता व्यक्त गरे ।