गरिबका छोराछोरीलाई शिक्षामा पनि निषेध गरिएको छ

फागुन ०९, २०७७

एटुजेड अनलाइन खबर


एलिजा ढकाल

देशमा भइरहेको प्रतिगमन टुलुटुलु हेर्न नसकेर हाम्रो आवजमा आवाज र कदममा कदम मिलाउन उपस्थित हुनुभएका सम्पूर्णमा नमस्कार! आज म यहाँ एउटा व्यक्ति मात्रै उभिएकी छैन, देशका सम्पूर्ण विद्यार्थीलाई प्रतिनिधित्व गर्दै उभिइरहेकी छु। त्यसैले, म यहाँ जे बोल्नेछु, त्यो हरेक विद्यार्थीको आवाज हुनेछ।

आज हामी वर्तमानको त्यो मोडमा आएर उभिएका छौँ, जहाँबाट हेर्दा देशको समृद्धिको मार्ग अन्धकारमय देखिन्छ। हाम्रो भविष्यको मार्ग पनि त्यति उज्यालो छैन। आज हामी त्यहीँ देश र विद्यार्थीको अँध्यारो मार्गमा प्रकाश पार्न यहाँ आएका छौँ।

हाम्रो देशमा जे भइरहेको छ, त्यो हेरेर बस्ने अवस्था छैन। हाम्रो देशको शिक्षामा मौलाएको व्यापारीकरणको जतिसुकै विरोध गरेपनि त्यो कमै हुन्छ। हाम्रो देशको शिक्षा प्रणालीले के उत्पादन गर्छ, हामीले राम्रोसँग देखिरहेका छौँ। हाम्रो देशको शिक्षा प्रणालीले पढेलेखेका बुख्याँचारुपी बेरोजगार मात्र उत्पादन गर्छ। सिरानीमा मास्टर्सको सर्टिफिकेट थन्क्याएर विदेशी मुलुकमा काम गर्न बाध्य छन्।

स्कुलमा पढ्दाताका मेरा धेरै केटी साथीहरु थिए। जसोजसो हामी कक्षा उक्लिँदै गयौँ, केटी साथीहरु घट्दै गए। एसएलसीसम्म पुग्दा धेरै साथीहरु घटिसकेका थिए। मास्टर्ससम्म पुग्दा त म एक्लै भएँ।

मेरा साथीका बाबुआमाको तर्क थियो– छोरीलाई पढाएर के हुन्छ, बरु बिहे गरिदियो भने उसले घर–व्यवहार गरिखान्छे।

त्यसबेला मेरा बाबुआमालाई लागेको थियो–मेरी छोरीलाई म पढाउँछु। ऊ पढेपछि सबल बन्छे, आत्मनिर्भर बन्छे, जागिर खान्छे र आफ्नै खुट्टामा उभिन्छे।

तर, आज उहाँकी छोरी डबल डिग्रीको सर्टिफिकेट बोकेर विश्वविद्यालयको प्राङ्गणमा विश्वविद्यालयसँग म किन बेरोजगार भएँ भनेर प्रश्न सोधिरहेकी छे।

यो मेरो मात्र प्रश्न होइन, म जस्ता लाखौँको हो। लाखौँ विद्यार्थीको भविष्यसँग खेलबाड गर्ने यो विश्वविद्यालय अब सुध्रिन जरुरी छ।

विश्वविद्यालयमा निजीकरण भयो। हिजो विश्वविद्यालय कसले चलाउँथ्यो, कसका छोराछोरी पढ्थे ? हामी विगतमा गएर हेरौँ त, सय वर्ष पछाडि फर्केर हेरौँ त?

हिजो राणाकालमा स्कुल र विश्वविद्यालयमा राणा र हुनेखानेको छोराछोरीको मात्र पहुँचमा थियो। आज शिक्षामा भइरहेको निजीकरणले गर्दा गणतन्त्रमा पनि त्यही परिपाटी निर्माण भएको छ। गरिब जनताका छोराछोरीलाई शिक्षामा घुमाउरो तरिकाले निषेध गरिएको छ।

हाम्रो विश्वविद्यालय समस्यै समस्याले ग्रस्त छ। हामीलाई पढाउने शिक्षकहरु कस्ता छन् ? उनीहरुको योग्यता र दक्षतामा पनि प्रश्न गरौँ। आज हामी प्रश्न बोकेर आएका छौँ, यी सबै प्रश्नको जवाफ चाहन्छौँ।

विश्वविद्यालयको एउटा विभागबाट अर्को विभागमा जान एउटी केटीले दश पटक सोच्नुपर्ने हुन्छ। विश्वविद्यालयले पालेको झाडीमा अश्लीलता देखाइरहेका पुरुषहरूलाई देखेर महिलाहरुले दश पटक सोच्छन्, यो बाटो हिँडौँ कि नहिँडौँ?

विश्वाविद्यालयलाई आफ्ना छात्रा विद्यार्थीहरु विश्वविद्यालयभित्रै सुरक्षित महशुस गर्न सक्दैनन् भन्ने कुरा थाहा छ कि छैन? उनीहरु किन टुलुटुलु हेरेर बसिरहेका छन्?

हाम्रा विश्वविद्यालयको भौतिक पूर्वाधारको अवस्था हेरौँ। यहाँका कक्षा कोठा, प्रयोगशाला, पुस्तकालय र शौचालय हेर्दाखेरि यो कुनै विश्वविद्यालय जस्तो लाग्दैन। यो त कुनै कारखाना जस्तो लाग्छ, पूरै अस्तव्यस्त। हामी त्यो अस्तव्यस्तविरुद्ध बोलौँ, आवाज बुलन्द पारौँ।

अस्ति म यही कार्यक्रमको तयारीका लागि साथीहरुसँग चौरमा बसेर कुराकानी गरिरहेकी थिएँ। कार्यक्रमबारे छलफल सकेर हामी निस्कनै लाग्दा, म नजिक एक जना आउनुभयो। उहाँ हामीलाई चिनेर बोल्न आउनुभयो होला भन्ने लागेको थियो, तर उहाँ त चिया बेच्न आउनुभएको थियो। उहाँको हातमा चियाको थर्मस थियो। उहाँ मेरो साथी हुनुहुन्थ्यो।

उहाँलाई मैले सोधेँ– अचेल के गर्दै हुनुहुन्छ।

‘म मास्टर्स गर्दैछु। जीविकोपार्जन र पठाइ खर्च जुटाउनका लागि चिया बेच्छु।’ उहाँले भन्नुभयो।
उहाँको उत्तर सुनेर म खुसी पनि भएँ, दुखी पनि।

खुसी यस अर्थमा लाग्यो कि मेरो देशमा एउटा युवक कुनै पनि कामलाई सानो भन्दैन। दुःख यस अर्थमा लाग्यो कि यो देशको सेमेस्टर प्रणालीले उनीहरुलाई पढाइमा निषेध गरेको छ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मबाट भविष्य खोज्दै काठमाडौँ आउने विद्यार्थीहरु, जसलाई कोठाभाडा, पढाइ, पकेट मनी जुटाउनका लागि काम गर्नुपर्छ, ती विद्यार्थीलाई सेमेस्टर प्रणालीले पढाइमा निषेध गरिरहेको छ। मलाई यो देखेर लज्जाबोध हुन्छ।

मलाई आफू र आफ्ना साथीहरुको पढाइलाई निषेध गर्ने शिक्षा प्रणाली देखेर हीनताबोध हुन्छ। विश्वविद्यालयमा पढ्न पाउने हरेक नागरिकको अधिकार हुन्छ, चाहे त्यो धनी होस् वा गरिब। त्यसैले आज हामी पढ्न पाउने अधिकार र पहुँचका विषयमा बोलौँ।

हाम्रो समाज कस्तो सुन्दर र सीपमुलक थियो। दमाई दाइ कपडा सिलाउनुहुन्थ्यो, सार्की दाइ जुत्ता सिलाउनुहुन्थ्यो, कामी दाइ फलामका भाडा बनाउनुहुन्थ्यो र कुमाल दाइ माटाका भाडा बनाउनुहुन्थ्यो। तर, उनीहरुलाई नै यो समाजले अछुत भन्यो। उहाँहरुका सीप विस्थापित भयो र हाम्रो देशमा विदेशी सामानहरु भित्रिन थाले।

जुन  दिनदेखि समाजका डिजाइनर र इन्जिनियरलाई अछुत बनाइयो। हाम्रो देशको सीपमूलक शिक्षामा प्रतिबन्ध लाग्यो, सीपमूलक शिक्षामा प्रतिबन्ध सुरु भयो।

त्यसैले, आज हामी सीपमुलक शिक्षाको प्रतिगमनको विरुद्धमा बोलौँ। घोकाएर बुख्याँचा र बेरोजगार उत्पादन गर्ने शिक्षा प्रणालीका विरुद्धमा आवाज शसक्त पारौँ।

हामीले विश्वविद्यालयसँग तमाम प्रश्नहरु सोधेका छौँ। ती तमाम अनुत्तरित प्रश्नहरुको जवाफ हामीलाई विश्वविद्यालयले दिनैपर्छ।

(बृहत् नागरिक समाजले २०७७–११–०३ मा शैक्षिक क्षेत्रको प्रतिगनविरुद्ध आयोजना गरेको  ‘मार्च टु टियू’ मा विद्यार्थी तथा सामाजिक अभियन्ता एलिजा ढकालले दिएको मन्तव्यमा आधारित)