नेप्सेमा झिनो सुधार, कारोबार रकम १ प्रतिशत बढ्यो

फागुन १०, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन १० : साताको पहिलो दिन नेप्से परिसूचकमा उच्च उतारचढाव देखिए पनि बजार बन्द हुँदा सीमान्तदरमा मात्रै वृद्धि भएको छ । नेप्से परिसूचक आइतबार ३ दशमलव ६६ अंक अर्थात् शून्य दशमलव १४ प्रतिशतले वृद्धि भएर २ हजार ६ सय ४० बिन्दुमा पुगेको हो ।

नेप्से परिसूचक उच्च तहमा रहेसँगै प्रफिट बुकिङ बढेपछि बजार घटेको देखिन्छ भने केहीले यही समयमा लगानी बढाएका छन् । यस दिन बजारमा ८ अर्ब ८३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ । यो अघिल्लो दिनको कारोबारभन्दा करिब १ प्रतिशतले बढी हो ।

यस दिन २ सय ७ धितोपत्र तथा ऋणपत्रको कारोबार भएकोमा ९१ कम्पनीको मूल्य बढेको र १ सय १५ कम्पनीको मूल्य बढेको छ । आइतबार बैंकिङ समूहमा आएको उतारचढावसँगै नेप्से परिसूचकमा परिवर्तन आएको हो । अन्तिम समयमा यो समूहगत परिसूचक शून्य दशमलव ३७ प्रतिशतले घटेर १ हजार ९ सय २९ मा सीमित भएको हो ।

जलविद्युत् समूहगत परिसूचकमा भने यस दिन उच्च वृद्धि भएको छ । माथिल्लो तामाकोसी, शिवश्री, नेपाल हाइड्रो, लिबर्टी इनर्जीलगायतको मूल्य उच्चदरमा बढेको हो । यी कम्पनीको मूल्य ८ देखि १० प्रतिशतसम्म वृद्धि भएको छ । लगानीकर्ता जलविद्युत्तर्फ आकर्षित हुँदा यो समूहगत परिसूचक सबैभन्दा धेरै ४ प्रतिशतसम्म वृद्धि भएको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल बैंक, नेपाल पूर्वाधार विकास बैंक, ग्लोबल आइएमई बैंकलगायत अग्रस्थानमा छन् । यिनको ३१ देखि ६१ करोड रुपैयाँसम्म सेयर किनबेच भएको हो ।

आइतबारको बजार भने बियरिस प्रवृत्तिमा देखिएको छ । बजारमा कारोबारमा आएका कम्पनीहरूका आधारमा निकालिएको एड्भान्स टू डिक्लाइन ९एडी० रेसियो १ भन्दा कम छ । १ भन्दा कम भएमा बजार बियरिस र १ भन्दा माथि भए बजार बुलिस रहेको मानिन्छ ।

यस दिनको सुरु, उच्च, न्यून र बन्द बिन्दुका आधारमा कालो ९रातो० मैनबत्ती आकृति बनेको छ । यसले कारोबार सुरु हुँदा उच्च तहबाट भए पनि घट्न थालेको, तर बजार बन्द हुनुअघि सो दिनको न्यून बिन्दुभन्दा माथि आइपुगेको देखाउँछ ।

बजारमा सुधार देखिए पनि नेप्सेले सो दिनको सुरु बिन्दु भने भेट्न सकेन र मैनबत्तीमा लामो कालो शरीर बन्यो । यसले बजारको बुलिस प्रवृत्ति कमजोर भएको संकेत गर्छ । यद्यपि, लगानीका लागि आगामी दिनको पहिलो कारोबार हेर्नु सही हुन्छ ।