गुणस्तर बढाउन र कम शुल्कमा सेवा दिन ‘नम्बर पोर्टेबिलिटी’

फागुन १०, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन १० : नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल सेवामा प्रतिस्पर्धा ल्याउन ‘नम्बर पोर्टेबिलिटी’ सिस्टम लागू गर्ने भएको छ । प्राधिकरणले नम्बर पोर्टेबिलिटीका सम्बन्धमा आन्तरिक परामर्शदाताबाट गराएको अध्ययन प्रतिविदेनले प्रतिस्पर्धी बजार र सेवाको गुणस्तरमा सेवाप्रदायक नजिक रहेको अवस्थामा यो प्रणाली लागू गर्न सकिने देखाएको छ ।

अहिलेको अवस्थामा सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रबाट एनसेल मोबाइल सेवाको प्रतिस्पर्धामा छन् भने स्मार्ट टेलिकम त्यसपछि छ ।

ग्राहकले एउटा मोबाइल नम्बर लिएपछि आफूलाई चित्त बुझेको जुनसुकै सेवा प्रदायकको सेवामा स्वीच हुनसक्ने अवस्था नै नम्बर पोर्टेबिलिटी हो । यसरी स्वीच हुँदा कम शुल्कमा गुणस्तरीय सेवा दिने सेवा प्रदायकको नेटवर्क ट्राफिक उच्च हुन्छ भने न्यून गुणस्तर तथा महंँगो सेवा प्रदायकबाट ग्राहकहरू स्वतः बाहिरिन्छन् ।

ग्राहक आकर्षण बढाउन पनि सेवा प्रदायकलाई गुणस्तरीय सेवा दिन र प्रतिस्पर्धामा सस्तो महसुल निर्धारण गर्न नम्बर पोर्टेबिलिटी सिस्टमले दबाब दिनेछ । प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले अध्ययन प्रतिवेदन नम्बर पोर्टेबिलिटी लागू गर्न सकिने अवस्था आएको जानकारी दिँंदै यस सम्बन्धमा थप गृहकार्य भइरहेको जानकारी दिए ।

उनका अनुसार दूरसञ्चार सेवाको पहुँचमा कुनै समस्या नभए पनि कम्तीमा तीनवटा सेवाप्रदायकबीच प्रतिस्पर्धा भएमा अति प्रभावकारी हुनेछ । यो सिस्टम लागू गर्नुको मुख्य उद्देश्य नै सेवाको गुणस्तर बढाउने र कम शुल्कमा ग्राहकलाई सेवा दिने हो ।

प्राधिकरणका प्रवक्ता अर्यालले चालू वर्षमा यसको सिस्टम निर्माण गर्ने तथा नीतिगत व्यवस्था गरी आउने आर्थिक वर्षदेखि कार्यान्वयनको चरणमा जान सकिने बताए ।