निर्वाचन सामग्री खरिदका लागि बोलपत्र आह्वान गर्दै आयोग

फागुन १०, २०७७

एटुजेड अनलाइन खबर


काठमाडाैं, फागुन १० : निर्वाचन आयोगले निर्वाचन सामग्री गरिदका लागि बोलपत्र आह्वान गर्दैछ । प्रतिनिधिसभा विघटनसम्बन्धी रिट सर्वोच्चको संवैधानिक इजलासमा विचाराधीन रहेको र इजलासले फैसला सुनाउने तयारी गरिरहेको अवस्थामा आयोगले निर्वाचन सामग्री खरिदका लागि प्रक्रिया अघि बढाएको हो ।

सरकारले आगामी वैशाख १७ र २७ गतेका लागि घोषणा गरेको प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेको आयोगले मतदान केन्द्रमा प्रयोग हुने विभिन्न किसिमका निर्वाचन सामग्री खरिदका लागि मंगलबार गोरखापत्र दैनिकमा सूचना प्रकाशित हुने जनाएको छ ।

बोलपत्रसम्बन्धी सूचना आयोगले आफ्नो वेबसाइटमा समेत राखिने जनाएको छ । अधिक संख्यामा बोलपत्रदाताहरुको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस् भन्ने हेतुले खरिद गर्नुपर्ने निर्वाचन सामग्रीहरुलाई विभिन्न ११ समूहमा समूहीकृत गरिएको आयोगले जनाएको छ ।

ग्राह्य बोलपत्रदाताहरुले आयोगबाट फागुन ११ गतेदेखि १७ गतेका बीच कार्यालय समयभित्र बोलपत्र फाराम खरिद गर्न सकिने र १८ गते दिउँसो १२ बजेसम्म सिलबन्दी बोलपत्र आयोगमा दर्ता गराइसक्नु पर्ने आयोगका सहसचिव एवं प्रवक्ता राजकुमार श्रेष्ठले जनाए

‘सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरुको व्यवस्थापन गर्न असम्भवप्रायः भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ को व्यवस्था बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आह्वान सम्बन्धी सूचना प्रकाशित गरिएको छ,’ आयोगद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ ।