अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ : मुख्यमन्त्री पोखरेल

फागुन ११, २०७७

एटुजेड अनलाइन खबर


बुटवल, फागुन ११ : लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले  प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाले अस्थिरताको खेल सुरु हुने प्रतिक्रिया दिएका छन् ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्ने सर्वोच्चको फैसला आएपछि प्रतिक्रिया दिँदै केपी शर्मा ओली खेमाको नेकपाका स्थायी कमिटीसमेत रहेका मु्ख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सर्वोच्चको फैसलाबाट सुरु हुने अस्थिरताको खेलले प्रधानमन्त्रीको कदमको औचित्य पलपल पुष्टि गर्नेछ । हिम्मत र धैर्यताका साथ अघि बढौं ।’

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले मंगलबार असंवैधानिक ठहर गर्दै बदर गरेको हो । अब प्रतिनिधिसभा बैठक १३ दिनभित्र अर्थात् फागुन २४ गतेभित्र बोलाउन पनि सर्वोच्चले परमादेश जारी गरेको छ ।