न्यायपालिकाको गरिमा यसैगरी कायम रहने विश्वास छ : शशांक कोइराला

फागुन ११, २०७७

एटुजेड अनलाइन खबर


नवलपरासी, फागुन ११ : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले सर्वोच्च अदालतले आज गरेको प्रतिनिधिसभा पुनर्स्थापनाको फैसला स्वागतयोग्य रहेको बताएका छन् ।

मंगलबार विज्ञप्ति निकालेर कोइरालाले यो ऐतिहासिक फैसलाले स्वतन्त्र न्यायपालिका, संवैधानिक सर्वोच्चता, विधिको शासन, लोकतान्त्रिक शासन व्यवस्थामा विश्वास गर्ने आमनेपाली जनताको भरोसा टुट्नबाट जोगाएको बताएका छन् ।

‘निरंकुश पञ्चायती शासन व्यवस्थामा पनि बिपी, गणेशमानले न्यायालयमाथि ठूलो आस्था र विश्वास गर्नुभयो,’ उनले भनेका छन्, ‘उहाँहरुमाथि लागेका झट्टा मुद्दा सम्मानित अदालतले खारेज गरेको इतिहास छ।’

आगामी दिनमा पनि देश र जनताको आस्थाको केन्द्रविन्दुको रुपमा न्यायपालिकाको गरिमा यसैगरी कायम रहनेछ भन्ने विश्वास लिएको कोइरालाले उल्लेख गरेका छन् ।