भोकभोकै बादी समुदायको धर्ना

फागुन १२, २०७७

एटुजेड अनलाइन खबर


सुर्खेत, फागुन १२ : खेतीयोग्य जग्गाको माग गर्दै कर्णाली प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअगाडि धर्नामा बसेका बादी समुदायका एक युवा बिरामी परेका छन् । बुधबार दिउँसो करिब १२ गतेतिर बेहोस भएर ढलेका उनको प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।

बिरामी उनलाई जिल्ला प्रहरी कार्यालयले उपचारको लागि प्रदेश अस्पताल पुर्याइएको छ । दुल्लु नगरपालिका–१ का ३० वर्षीया फडेला (फ्याउटो) बादीको प्रदेश अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए । उनको अवस्था सामान्य रहेको समेत उनले बताए ।

दुई दिनदेखि खाना नखाएका उनी भोकले बेहोस भएर ढलेको बताइएको छ । ‘उसले हिजोदेखि खाना खाएको थिएन,’ उनीसँगै रहेका सेते बादीले भने, ‘दिउँसो करिब १२ बजेतिर उनी एक्कासि बेहोस भए, प्रहरीले देखेपछि उपचारका लागि लगिएको छ ।’

जग्गाको माग गर्दै दैलेखको डुङ्गेश्वर गाउँपालिका–५ र दुल्लु नगरपालिका–१ का ४ सयभन्दा बढी बादी समुदायका मानिसले सोमबारबाट मुख्यमन्त्री कार्यालयअगाडि धर्ना दिइरहेका छन् । मुख्यमन्त्री कार्यालयअगाडि खुला आकाशमा बसिरहेका उनीहरुले खानपानका लागि अत्यन्त समस्या भएको बताएका छन् ।