इंग्ल्यान्ड दोस्रो सेसनमै अलआउट

फागुन १२, २०७७

एटुजेड अनलाइन खबर


अहमदाबाद, फागुन १२ : भारतविरुद्ध जारी टेस्ट सिरिजको तेस्रो खेलमा इंग्ल्यान्डले खराब सुरुवात गरेको छ । डे-नाइट टेस्ट अन्तर्गत पहिलो दिनको दोस्रो सेसनमा नै इंग्ल्यान्ड १ सय १२ रनमा अलआउट हुन पुगेको हो ।

अहमदाबादस्थित मोटेरा रंगशालामा टस जितेर ब्याटिङ रोजेको इंग्ल्यान्डले तेस्रो ओभरमा नै ओपनर डोम सिब्लेको साथ गुमाएको थियो । करिअरको सयौं टेस्ट खेलिरहेका इशान्त शर्माको बलमा सिब्ले खाता नखोली क्याचआउट भए । छैटौं ओभरमा जोनी बेयरस्टो पनि खाता नखोली पेभेलियन फर्केपछि इंग्ल्यान्ड समस्यामा परेको थियो । अक्षर पटेलले उनलाई एलबीडब्लु धरापमा पारेका थिए ।

तेस्रो विकेटका लागि ओपनर ज्याक क्रली र कप्तान जो रुटले ४७ रनको साझेदारी गरे । कप्तान रुट १७ रन जोड्दै रविचन्द्रन आश्विनको बलमा एलबीडब्लु भए । त्यसको तीन ओभरपछि अर्धशतक बनाएका क्रली अक्षर पटेलको बलमा आउट भए । उनले ८४ बलको सामना गर्दै १० चौकाको मदतले ५३ रन जोडे ।

त्यसपछि भरतका स्पिनरले लगातार विकेट खसाले । ओली पोप १ रन, बेन स्टोक्स ६ रन तथा जोफ्रा आर्चर ११ रनमा आउट भए । जाक लिच ३, स्टुआर्ट ब्रोड ३ तथा बेन फोकस १२ रनमै पेभेलियन फर्किए । भारतका स्पिनर अक्षर पटेलले ६, रवि आश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।

जवाफमा भारतले १० ओभर खेल्दा बिना विकेट क्षति १४ रन जोडेको छ । रोहित शर्मा १० र शुभामन गिल ४ रनमा खेलिरहेका छन् ।