सामाजिक सञ्जालमार्फत हुने ठगी बढ्यो, सचेत रहन प्रहरीको आग्रह

फागुन १३, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन १३ : नेपाल प्रहरीले सामाजिक सञ्जालमार्फत हुने ठगीबाट जोगिन भन्दै सचेत गराएको छ । विभिन्न विदेशी नम्बरबाट मोबाइल, म्यासेञ्जर, भाइबर, ह्वाट्सएप आदिमा कल गरी चिठ्ठा परेको भन्दै ठगी गर्ने क्रम बढेपछि प्रहरीले यस्तो सचेत रहन आग्रह गरेको हो ।

प्रहरीले एक सूचना प्रकाशित गर्दै उपहार परेको प्रलोभनमा आईएमई मार्फत पैसा पठाउन लगाएर ठगी गरेको अभियोगमा ५३ हजार रुपैयाँ नगद सहित तीन जनालाई पक्राउ गरिसकेको छ । जसमा काठमाडौं महानगरपालिका ६ बस्ने पर्सा पोखरिया नगरपालिका-७ घर भएका २६ वर्षीय दिपककुमार दुबे लगायतका छन् ।

उनीहरुलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो । ‘तपाईंलाई ठूलो रकमको चिठ्ठा परेको छ’ अथवा ‘तपाईंलाई पार्सल उपहार पठाएको छु’ भन्दै विभिन्न व्यक्तिहरुलाई उनीहरुले प्रलोभनमा पारेर ठगी गरेको प्रहरीको आरोप छ ।

त्यसक्रममा उनीहरुले उपहार तथा रकम प्राप्त गर्ने प्रक्रियाका लागि नेपालका विभिन्न बैंकको खाता नम्बरहरु दिएर केही रकम जम्मा गर्न लगाउने र त्यसपछि उक्त रकम झिकेर फरार हुने गरेको प्रहरीले जनाएको छ । यसरी ठगी गर्ने गिरोह विदेश तथा नेपाल दुवैतर्फ सक्रिय रहेका छन् ।

प्रहरीले कुनै पनि विदेशी वा अपरिचित नम्बरबाट कल आएमा तथा म्यासेञ्जरमा कसैले उल्लेखित व्यहोरा सहित सम्पर्क गरेमा प्रलोभनमा नपर्न आग्रह गरेको छ । ‘यस्तोमा कुनै रकम लेनदेन नगर्न तथा त्यस्तो फोन आएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त उजुरी दिन समेत अनुरोध गर्दछौं,’ प्रहरीको सूचनामा भनिएको छ ।