डेढ वर्ष प्रतिपक्षमा बस्न तयार छौँ, त्यसपछि दुईतिहाइ आइहाल्छ: प्रधानमन्त्री ओली

फागुन १७, २०७७

एटुजेड अनलाइन खबर


पोखरा, फागुन १७ : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू प्रतिपक्षमा बस्न राजी रहेको बताएका छन् । गण्डकी प्रदेश भेलालाई सम्बोधन गर्न सोमबार पोखरा पुगेका प्रधानमन्त्री ओलीले त्यसपछि दुईतिहाइ बहुमत ल्याउने बताएका हुन् ।

“हामी डेढ वर्ष प्रतिपक्षीमा बस्न तयार छौँ, तर डेढ वर्षपछि फेरि दुइतिहाइ बहुमत ल्याउँछौँ,” उनले भेलालाई सम्बोधन गर्दै भने, “हामी सुखी नेपाली, समृद्ध नेपालमा अडिग छौँ । अघिल्लोपटक पनि उहाँहरूले मलाई प्रधानमन्त्रीबाट हटाउनुभएको हो । हटाउने उनै माधव नेपाल, प्रचण्ड, झलनाथ खनाल हुन् । एउटै पार्टीमा बसेर पनि मलाई हटाइहाल्नुपर्छ भनेर लाग्नुभयो ।”

त्यतिबेला उनीहरूको आन्दोलन ध्वस्त पार्ने योजना रहेको उनले बताए । उनले अहिले पद्धति प्रक्रियाबाट आउन चुनौती दिए । प्रधानमन्त्री हटाउने विधि, पद्धति, प्रक्रिया, प्रजातान्त्रिक कस्तो रहेछ हामी पनि हेरौँला,” उनले चेतावनीको भाषा प्रयोग गरे, “अविश्वासको प्रस्ताव राखेर हटाउनहोस् न । कमसेकम कुस्तीमा कसले जित्छ, हार्छ भन्ने नियम राखेर भए पनि हटाउनुहोस् । उहाँहरूलाई आफू बलियो छु भन्नेजस्तो लाग्छ, भने कुस्ती खेलेर प्रधानमन्त्री बन्ने नियम बनाउनुहोस् ।”