ह्वीलचियरबाट ड्युटी गर्दै कतारमा दुर्घटनामा परेका नेपाली

फागुन १९, २०७७

एटुजेड अनलाइन खबर


दोहा, फागुन १९ : भन्थ्यौं आमा नेपालमा दु:ख छ, विदेशमा त पैसाको रुख छ ।
कालो बादल नीलो आकाशमा, गयौं आमा चढेर जहाजमा, फर्कयौ बाकसमा ।

‘परदेशी’ चलचित्रमा समेटिएको यो गीतले वैदेशिक रोजगारको सिलसिलामा दु:ख कष्ट र यातना पाएर अकालमै मृत्युवरण गर्न पुगेका तथा अंगभाङग भएर दु:ख पीडा र बेदना यसरी पोखिएको छ– जुन दु:ख पीडा आम नेपालीको नियति जस्तै बनेको छ ।

यस्तै गम्भीर सडक दुर्घटनामा परेर बाचेका दु:ख पीडा र बेदनाले भौतारिरहेरका मध्येका एक हुन् सल्यानका छविलाल बुढा ! उनी विदेशमा धन कमाई परिवारलाई सुख राखुँला भन्ने सपना बोकेर विगत १२ वर्ष अघि कतार आईपुगेर आईटीसीसी कम्पनीमा काम गर्न थाले काम ठिकै थियो ।

उनी यो १२ वर्षको अवधिमा घर छुट्टिमा जाने आउने गरिरहेका थिए । अचानक सन् २०१७ मा सडक पार गर्ने क्रममा दुर्घटनामा परे । उनको घटनास्थलमै ज्यान गएको अनुमान गरिएको थिए । धन्य उनको ज्यान बच्यो । नजिकैको अस्पताल लगियो । तर उनको खुट्टा काट्नु पर्ने भयो ।

कम्पनीले जसोतसो गरेर कृत्रिम खुट्टा पनि लगाई दियो । तर,उनी काम गर्न नसक्ने भए २०१७ देखि २०१९ सम्म दुई वर्ष काम बिहिन् रुमै भएर बसे, कम्पनी बेसिक तलव ८ सय कतारी रियाल दिने भनेको थियो त्यो पनि कहिले दिने कहिले नदिने गर्यो ।

पछि सन् २०२० शुरू भएपछि उनलाई कम्पनी स्टोरमा काम त दियो जसोतसो आफूले सकेको काम गर्दै थिए, कोरोना महामारीको करण लकडाउन भयो र त्यो काम पनि बीचैमा छोड्नु पर्यो अनि फेरि काम बिहिन् भएर बस्नुपर्यो, अहिले उनले कम्पनीमा वाचमेनका काम पाएका छन् ।

एक वर्षदेखि मुद्दा लडे

उनले आफूलाई दुर्घटना गराउने बिरुद्ध यहाँको हाइकोटमा मुद्दा पनि दर्ता गरेर विगत एक वर्षदेखि मुद्दा पनि लडे तर, हाइकोटको फैसलाले आफूलाई दोषी देखाएको बताए ।

‘एकदेखि हाइकोटमा मुद्दा लडे फैसलामा मलाई नै दोषी देखाइयो केही क्षितिपूर्ति पनि पाइएन् अहिले गैरआवासिय नेपाली संघले हाइकोटको पेपर मागेको छ मसंग छैन,’ उनले भने।

३२ महिनादेखि भिसाबिहीन

विगत ३२ महिनादेखि आवासीय अनुमति पत्र (भिसा) बिहिन् भएर नै कम्पनीमा काम गरिरहेको उनले बताए । कम्पनीले यसअघि अर्कै कम्पनीमार्फत भिसा जारी गर्ने गरेको र अहिले त्यो कम्पनीले पनि आवासीय अनुमति जारी नगरेकाले आफू भिसा बिनानै काम गरिरहेको बताए ।

कतारको कानुन अनुसार भिसा अवधि सकिएको तीन महिनासम्म मात्र बस्न पाइने नियम छ, त्यसपछि यहाँ अबैधानिक मानिन्छ । भिसा नभएको करण ड्युटी जान आउन वा कतै हाटबजार जान समेत समस्या हुने गर्दछ। अहिले पछिल्लो समयमा त झन् कोरोना महामारीका करण पुलिसको चेकिङ् बढी हुनेहुदा आवसीय अनुमतिपत्र अनिवार्य छ ।

पीडितको घाऊमा मलम लगाउदै एनआरएनए

अबको ६ महिनापछि उनको कृतिम खुट्टा परिवर्तन गर्नुपर्ने थियो कम्पनीले अब नसक्ने भनेपछि उनले कतारमा स्थापित एक सस्थामार्फत गैरआवासीय नेपाली संघ कतारको सम्पर्कमा पुगे । पीडितलाई काम गर्न थप सहजहोस भनेर संघले आइतबार ह्वील चियर उपलब्ध गराएको छ ।

कतारको परोेपकारी संस्था कतार रेडक्रिसेंटमार्फत उनलाई ह्वीलचियर प्रदान गरिएको संघका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले खबरहबलाई जानकारी दिए ।

ह्वीलचियर पाएपछि काम गर्न थप केही सजिलो हुने बताउदै उनले अर्को कृतिम खुट्टा जडान गर्न संघले अझै केही डकुमेन्ट ल्याउन भनेको बताए । संघका अध्यक्ष मुसलमानले उनको केही थप अफिसियल डकुमेन्ट उपलब्ध हुने बित्तिकै कृतिम खुट्टा जडान गर्ने कार्य पनि प्रक्रियामा रहेको बताए ।

साथै यस्ता किसिमका समस्यामा परेका नेपाली दाजुभाइ दिदीबहिनीहरुले गैर आवासीय नेपाली संघ, कतारलाई सम्पर्क गर्न समेत उनले अनुरोध गरेका छन् । यी प्रतिनिधि उदारण मात्र हुन् माथिको गीत भने जस्तै हजारौं नेपाली श्रमिक विदेशमा आङ्गभंग भएका छन् भने दैनिक एक नेपालीको शव रातो बाकसमा फर्किने गरेका छन् ।