प्रचण्ड-नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दै

फागुन १९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन १९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षले केन्द्रीय सदस्यहरूलाई नागरिकता र पार्टीको परिचयपत्रसहित पार्टीको केन्द्रीय कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ।

नेकपाले आज (बुधबार) दिउँसो १ बजे पेरिसडाँडा (केन्द्रीय कार्यालय) मा अनिवार्य उपस्थित हुन भनेको हो। सचिवालयको निर्णय अनुसार आज केन्द्रीय कमिटी बैठक बस्न लागेको हो ।

बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे रणनीति बनाउने पनि बताइएको छ । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गरिदिएपछि प्रचण्ड-माधव समूहका नेताले दौडधूप गरिरहेका छन् ।

आगामी सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवा,जनता समाजवादी पार्टीका नेताहरुलाई समेत भेटेर छलफल गरिसकेका छन् ।

२३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले पनि कसरी प्रस्तुत हुने विषयमा प्रचण्ड-माधव समूहले केन्द्रीय समितिबाट रणनीति तय गर्ने बुझिएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिएकोले उनीमाथि अविश्वासको प्रस्ताव ल्याउने विषयमा पनि छलफल हुने नेताहरुले बताएका छन् ।