लेले दुर्घटना : डीआईजीको नेतृत्वमा छानविन समिति

फागुन २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन २७ : ललितपुरको गोदावरी नगरपालिका–५ लेलेस्थित खत्रीगाउँमा पजेरो दुर्घटनामा परेर प्रहरी जवान रवि सुनुवारको मृत्यु भयो ।

फागुन २५ मा भएको सो दुर्घटनामा महानगरीय प्रहरी प्रभाग फर्सिडोलका इन्चार्ज प्रहरी नायव निरीक्षक (सई) दिनेश मैनाली घाइते भए । मैनालीको ग्वार्कोस्थित बीएण्डबी अस्पतालमा उपचार भइरहेको छ ।

सो दुर्घटनाबारे छानविन गर्न डीआईजी उमेश रन्जितकारको नेतृत्वमा छानविन समिति गठन गरिएको महानगरीय प्रहरी कार्यालयका एआईजी हरि बहादुर पालले बताए ।

समितिमा महानगरीय प्रहरी कार्यालयका एसपी श्याम सिंह चौधरी र डिएसपी भावेश रिमाल सदस्य छन् ।

बिदा स्वीकृत नगराई सई मैनाली र जवान सुनुवार निजी गाडीमा लेले जाँदै थिए । उनीहरु सवार बा.२च ५९४९ नम्बरको पजेरो उकालो चढ्न नसकेपछि पल्टिएको थियो । उनीहरुले बिदा नलिएको ललितपुरकी एसएसपी किरण बज्राचार्यले रातोपाटीलाई बताइन् ।

जवान रवि सुनुवारको शव उनको स्थायी घर बर्दियामा पठाइएको छ । त्यहाँ बिहीबार प्रहरी सम्मानका साथ उनको अन्त्येष्टि गरिँदै छ । सई मैनाली नुवाकोटका हुन् । उनी लामो समयदेखि फर्सिडोल प्रभागमा इन्चार्ज छन् ।