सङ्केतको ‘अफगानी रणमैदान’ लोकार्पित

फागुन २७, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, फागुन २७ : साहित्यकार केदार सङ्केतको कृति ‘अफगानी रणमैदान’ सार्वजनिक भएको छ । काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे, डा. गोविन्दराज भट्टराई, प्रा.डा. कुमार कोइराला, डा. नेत्र एटम, निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’, साहित्यकार इल्या भट्टराई र कवि उत्तम काँतिचले उक्त कृति संयुक्तरूपमा विमोचन गरे ।

पुस्तक लोकार्पण कार्यक्रममा वक्ताहरूले कृतिका लेखक सङ्केतको प्रस्तुत कृति युद्ध साहित्यमा रुचि राख्नेहरूका लागि एक महत्त्वपूर्ण पठनीय सामग्री भएको बताए । युद्धको बर्बर अवस्थाबाहेक माया, प्रेम, यौवनसहित व्यङ्ग्यका पक्षहरूलाई कृतिमा समेट्न कृतिकार सफल भएको तिनको तर्क थियो ।

सङ्केतको यो पुस्तक सांग्रिला बुक्सले प्रकाशनमा ल्याएको हो । यस अघि लेखकका ‘आफैं जलिरहेको देश’ (कवितासंग्रह), ‘एथेन्सको झरी’ (नियात्रा), ‘संकेतका कविताहरू’लगायत कृति प्रकाशित छन् ।