अस्ट्रेलियाको नेपाली समाज र महिला हिंसा

चैत ०७, २०७७

एटुजेड अनलाइन खबर


प्रसङ्ग एक

बिहान झिसमिसेमा साइकल झिकेर घरबाट निस्कनै लागेको थिएँ । फोनको घन्टी बज्यो । यसो फोन हेरेको श्रृयाको फोन रहेछ । हिजो मात्रै २ घण्टा फोनमा कुरा भएको थियो । मैले ‘हेलो’ भन्नै नपाई एकै सासमा ‘म त अब सक्दिन होला दिदी, बाँच्ने मनै छैन’ भन्न थालिन् ।

हिजो मात्रै त्यति सम्झाएको आज फेरि यस्तो कुरा । के भयो र बहिनी ? मेरो प्रश्न पछि उनको शब्द आएन, एक तमासले फोनमा रोइन् मात्रै ।

एकछिन पछि उनको बोली फुट्यो र एक सासमा भनिन्- दिदी बुवा-आमालाई केटा मन परेको थिएन । सस्कार मिल्दैन, पढेको नि छैन भन्नु हुन्थ्यो । मैले जिद्दी गरेर बिहे गरेँ, हाम्रो बच्चा पनि जन्मियो । नेपालमा भने जस्तो भएन भनेर अष्ट्रेलिया आइयो । मलाई पढाइ र कामको चापले फुर्सद हुँदैन । उसलाई मेरो दुःखको कुनै मतलव छैन, काम पनि गर्दैन । रक्सी टन्न खान्छ र मलाई थर्काउँछ । हिजो राति त पिट्यो पनि । आँखा सुन्निएको छ, काममा जानै मिल्दैन । छोडिदिउ भने बा-आमा र समाजले के भन्लान्, नछोडौं त मलाई कुनदिन मार्छ होला ।

प्रसङ्ग दुई

मध्याह्नको कफी पिउन प्रेमाको पर्खाइमा आधा घण्टा बितेपछि उनी बल्ल आइन् । सामुन्ने बसेकी प्रेमाको अनुहारमा मेरा आँखा अडिए । उनको दायाँ आँखाको कोश सुन्निएको प्रस्ट देखिन्थ्यो । मेरो अघि टोलाइरहेकी प्रेमालाई सोधें- के भो तलाई, आँखा नि सुन्निएको छ त, रोइस् कि क्या हो ? मेरो प्रश्न नसकिदै उसले आफ्नो बह पोखी- यो कफीको सट्टा विष भएको भए !

भेट नभएको धेरै भयो भन्दै आजको कफी पिउन निम्तो गर्ने प्रेमा नै थिइ । फुङ्ग उढेको अनुहार, हप्तौं नकोरेको जस्तो कपाल, अनि शरीरमा बेढङ्गले भिरेको जस्तो पहिरनमा ऊ मेरो सामु थिई । म विगतमा पुगेँ जतिबेला प्रेमाको फेसन र अत्तरको बासनाले थुप्रैलाई लोभ्याउथ्यो ।

उसको छिनेको कम्मर, मृग नयनी आँखा अनि लामो रेशादार कपाल, कुनै अप्सराभन्दा कम थिइन ऊ । त्यसैबेला ऊ रुपेशको मायामा परी । उनीहरुको जिन्दगी राम्रै चलिरहेको थियो । कहिले बोन्डाइ, कहिले नेल्सन-बेतिर रमाउँदै रुपेशसँग बिताएका फोटाहरु म फेसबुकमा देखिरहन्थेँ । यत्तिकैमा केही महिना अगाडि उनीहरुको पहिलो सन्तान जन्मियो । दुवैजना एकदम खुशी थिए । हामी पनि कम्ति खुशी थिएनौं उनीहरुको खुशीमा । अघिल्लो महिना मात्रै मेरो भेट भएको थियो प्रेमासँग उसको घरमा । एक महिनाकै बिचमा प्रेमालाई के भयो मैले सोच्नै सकिनँ ।

प्रेमा ! केही त बोल, के भयो तलाई ? मेरो आश्चर्य मिश्रति प्रश्न भुइँमा नखस्दै रुँदै ऊ भन्छे- अब म रुपेशसँग बस्न सक्दिनँ, छुट्टनिु पर्ला जस्तो भैसक्यो । उसको यो कुराले म छाँगाबाट झरेझैँ भएँ । मैले उसलाई अँगालो हालेँ र भनेँ- चिन्ता नगर प्रेमा, हामी तिमीसँगै छौं ।

प्रेमा बोल्दै गई- यो केटा मान्छेको जात स्वार्थी हुनेरहेछ । उनीहरुलाई आफ्नो स्वार्थबाहेक अरु केही कुराको चासो नहुने रहेछ । मलाई त बच्चाको पनि खासै माया लाग्दैन, म मरे पनि रुपेशले हुर्काउन सक्छ । उसको यो भनाइपछि मलाई प्रेमालाई पोस्टन्याटल डिप्रेसन् भयो कि भन्ने शंका लाग्यो । बच्चा जन्मिएपछि महिलाको शरीरमा आउने हर्मोनल उथलपुथलका कारण महिलाको मानसिक समस्यामा पर्ने असरबारे प्रेमासँग कुरा गरेँ । धेरै सम्झाएपछि प्रेमा डाक्टरकोमा जान त राजी भइन् तर रुपेशसँग भने हाल बस्न नसक्ने भन्न थालिन् । प्रेमा भन्छिन्- मेरो शरीरमाथि हक जनाउने अधिकार उसलाई छैन । शरीरका २-४ वटा निलडाम देखाउदै भनी ल हेर रुपेशले दिएको उपहार ।

प्रसङ्ग तीन

एक जना दिदी भन्दै हुनुहुन्थ्यो- अब सकिदैन बैनी, म त एक्लै बस्ने हो । छोराहरु पनि अब विश्वविधालय पढ्ने भैसके । साना हुँदा यिनीहरुलाई असर पर्छ कि भनेर सबैथोक सहेँ अबचाहिँ सक्दिनँ ।

आफ्नो पीडा पोख्दै दिदी अगाडि भन्छिन्- पचास वर्षको उमेरसम्म पनि कती पिटाइ खानु । सोह्र वर्षको जवान हुँदा हाम्रो विवाह भयो । उहाँको रक्सी खाने बानी मलाई थाहा भएन । केही महिनामै उनले रक्सी खाएर पिट्न थाले । सहनै नसकेपछि माइतीलाई भनेँ । तर मैले सकारात्मक सहयोग पाउने आशा गर्न सम्भव थिएन । बच्चा जन्मिसकेकाले समाजले के भन्छ सबैलाई थाहै छ । मैले पनि माइती र समाजबाट त्यस्तै जवाफ पाएँ । ‘अलिअलि त सहनु पर्छ छोरी मान्छेले’ आमाले सम्झाउनुभयो ।

दिदीले आफ्नो श्रीमानको खराब बानिबारे अझ अगाडि भनिन्- यो उमेरमा पनि पोर्न मुभी हेर्नुहुन्छ, अनि त्यहाँ जे-जे हुन्छ उहाँले मलाई त्यस्तै गर्न भन्नुहुन्छ । मैले कसरी त्यस्तो गर्न सक्छु भन्नु त बहिनी । दिन-रात पिट्ने, हेप्ने अनि फेरि त्यही मान्छेसँग सुत्न त नसकिने रहेछ ।

दिदीले भन्दै जानु भयो- यो यौन भन्ने कुरा कस्तो होला आफूले सके पनि, नसके पनि लोग्नेहरुका लागि तयार भैदिनुपर्ने । कुनै दिन मायाले स्पर्श गरेको मलाई थाहा छैन । हररात बलात्कृत भएर बाँच्न त गाह्रो हुने रहेछ ।

प्रसङ्ग चार

श्रीमतीसँगको गुनासो पोख्दै एक जना भाइ फोनमा भन्दै थिए- दिदी मैले उसलाई विवाह गरेर ल्याएको हुँ । मैले जे-जे भन्यो त्यो त उसले मान्नुपर्छ नि । मैले भनेको मान्छे भने मसँग बस्छे हैन भने उसले आफ्नो सुर गर्न सक्छे ।

उनीहरुको सम्बन्धबारे चिन्ता र उत्सुकतासँगै जाग्यो । मैले सोधेँ- भाइ तिमीले ‘मैले भनेको मान्ने’ भनेको के हो ?

उसको जवाफ थियो- अरु केटासँग हाँसेर बोल्छे, आफूखुशी पैसा खर्च गर्छे । विवाह गरेपछि केटीहरुको काम भनेको उनीहरुको श्रीमानलाई खुशी पार्नु हो । मलाई उसले खुशी पार्न पनि सक्दिने । हाम्रो शारीरिक सम्बन्ध पनि नभएको धेरै भयो ।

मेरो कन्सिरी तातिसकेको थियो, तर संयमित हुँदै मैले भनेँ- भाइ त्यो अलि अहंकारी कुरा भएन र !

ऊ आफ्नो अहंकार अझै झल्काउँदै भन्छ- मैले मेरो हकको कुरा गरेको । मैले काम गर्छु, उसले भनेका सबै पुर्‍याएकै छु फेरि उसलाई के चाहियो ?

करिब आधा घण्टा फोनमा उसले आफ्नो परिवार, धनसम्पत्ति सबैको बेलिबिस्तार लगायो । मलाई भने एकपछि अर्को जिज्ञासा हुँदै गयो ।

मैले भनें- तिमीलाई कसरी लाग्यो कि केटी मान्छेलाई पैसा मात्रै भए पुग्छ । तिम्रो भनाइमा त माया प्रेम र सदभाव कहीँ पनि भेटिन त । पैसा त जसले पनि कमाउँछ नि ।

फोनमा छुट्टनिु अघि भने- हेर भाइ नियत मात्रै बिगार्ने हो र घरबाट ५ मिनट पर मात्रै गैइन भने तिम्रो श्रीमतीले तिमी भन्दा राम्रो, धेरै पैसा कमाउने अनि यौन क्षमता पनि भएको मान्छे पाउन सक्छिन् नि । तिमी भनेर बस्नु पर्ने कारण के छ र ? त्यसपछि उसले झटपट फोन राख्यो ।

हिजो मात्रै उसकी श्रीमतीको फोन आएको थियो । उनी भन्दै थिइन्- दिदी हजुरले के मन्त्र सुनाउनु भो भाइलाई लास्टै ज्ञानी भइरहेका छन् त आजभोलि !

प्रसङ्ग पाँच

एक जना मित्र छन् जो सधैं गैर आवासीय नेपाली अभियानमा सकृय हुन चाहन्छन् । उनी व्यक्तिगत भन्दा सामाजिक विषयमा रुचि राख्छन् । उनले सामाजिक विषयमा रुचि राखेर गर्नु के Û श्रीमतीको सताइले उनको सामाजिक र व्यवसायीक दुवै जीवन भद्रगोल भयो ।

श्रीमती घरमा कोही आएको देखिनसहने, चिया चमेनाको खर्चपर्च पनि सोधपुछ र केरकार गर्ने । हरेक कामको नकारात्मक टिप्पणी गर्ने । श्रीमतीलाई प्रेम प्रकट गर्दा उनले नाटक सम्झिने।

परिआए सार्वजनिक रुपमा नै गाली गर्न र हात छोड्न पछि नहट्ने । बच्चाहरुलाई बाबुकै नामले गाली गर्ने । ‘यी नामर्दका बच्चाहरु’ भन्न भ्याउने । बच्चालाई बालसुलभ कमजोरीका लागि गाली र पिटाइ गर्ने ।

श्रीमानका तर्फका आफन्तलाई सम्मान त परको कुरा गाली र आलोचना गर्ने । एक पटक श्रीमतीले जब उनकि आमाको प्रसंग उठाएर उनलाई गाली गरिन्- ‘त्यस्ती आमाको छोरा कस्तो हुनु ।’ त्यसपछि उनको सहनुको सीमा नाघ्यो र उनी अहिले त्यो घर छोडेर हिँडे, अन्तै शेयरिङमा बस्छन् ।

क्रिसमस र नयाँ वर्षको विदामा घरमा बस्दा विभिन्न व्यक्तिहरुसँग भयका सम्वादहरु हुन् । परिचय खुलाउन नमिल्ने भएकाले उनीहरुबारे बढी भन्न मिलेन तर हाम्रो समाजमा हुर्किरहेको सत्य घटनाहरु हुन् यी । आठ मार्च आउनु वरिपरि यी घटना र विषय माथि अलिकति चर्चा गर्न मन लाग्यो ।

महिला हिंसाको प्रसङ्ग

उसो त कानुन मात्रैले पनि महिला माथि हुने हिंसा कम हुँदैन भन्ने कुराको राम्रो उदाहरण अष्ट्रेलिया पनि हो । यहाँ अरु राष्ट्रको तुलनामा राम्रो कानुनी प्रावधान हुँदाहुँदै पनि हप्तामा एक महिलाको ज्यान घरेलु हिंसाको कारण जाने गर्छ । अष्ट्रेलियाको नेपाली समाजमा पनि घरेलु हिंसाका घटनाहरु बढ्दो अवस्थामा छन् । आफू हिंसा पीडित भएकोमा सहयोगको याचना गर्‍यो भने समाजले बिभिन्न बहानामा पीडितलाई नै हिंसा गर्छ ।

समाजले गर्ने हिंसा सहनुभन्दा घरभित्रकै हिंसा सहेर बाहिर नलैजाऔं भन्ने मानसिकता पनि छ । यसको मूल जरो भनेको फेरि पनि पुरुष प्रधान सामाजिक मान्यता नै हो । यहाँ महिलाले हर हालतमा हिंसा व्यहोरेर भए पनि पुरुषको इज्जत जोगाउनुपर्ने मान्यता अझै जबर्जस्त छ । किनकी पुरुषले जे गरे पनि समाजले उसको नैतिकता वा चरित्रमाथि सोझै प्रश्न उठाइँदैन । तर कुनै महिलामाथि कसैले आरोप मात्रै लगायो भने उमाथि चरित्र र नैतिकताका प्रश्न उठ्छन् । यो पितृसत्ता हाम्रो समाजमा कायम छ भन्ने प्रमाण हो । नेपालबाटै अस्ट्रेलिया आइपुग्दा हामीले पितृसत्तात्मक संस्कारका अवशेषहरुलाई पनि भिसा लगाएर ल्याएका छौं ।

महिला होस् वा पुरुष, जसले गल्ती गर्छ, गल्ती गर्नेमाथि प्रश्न उठाउने कुरा जुन दिनसम्म आउँदैन, त्यो दिनसम्म हिंसाका घटना बाहिर आउँदैनन् । अस्ट्रेलियामा समेत बहुरुपी जिम्मेवारीको भारी बोक्दै महिलालाई घर बाहिर निस्कन त अप्ठेरो छ भने त्यसमा आफूमाथि भएका घरेलु हिंसाका घटना बाहिर ल्याउन त झन् गाह्रो छ । त्यसैले महिलामाथि हुने विभिन्न हिंसाहरु लैंगिक विषयका मात्रै हैनन्, समाजमा व्याप्त चिन्तनको पनि हो । समाजले महिलाको इज्जत र पवित्रतालाई लगेर उसको यौनसँग जोड्ने गर्दछ तर पुरुषको इज्जत होइन यौनमा त पुरुषत्व पो देख्छ । यो चिन्तन अनि परम्पराको अन्त्य नभएसम्म समाजमा महिला माथिको हिंसाको वास्तविक अन्त्य सम्भव छैन ।

महिलामाथि हुने हिंसाका बहुरुपी असर

केही समय अगाडिको कुरा हो कामको शिलशिलामा मैले सानी टोनीलाई उनकी आमासँग भेटाउन लागेकी थिएँ । अष्ट्रेलियामा बालबच्चाको सुरक्षामा कानुन कडा छ, आमा-बुवाले आफ्ना छोराछोरीलाई सुरक्षाको प्रत्याभूति दिलाउन, दैनिक आवश्यकताका कुराहरु पूरा गर्न असमर्थ भएमा, औषधि उपचारमा हेल्चेक्राइँ गरिएको प्रमाणित भएमा यस्ता बालबच्चाहरुलाई सरकारले आफ्नो संरक्षणमा लैजान्छ ।

यस्तोमा बाबु-आमाले लागुपदार्थ सेवन गर्ने, अत्यधिक गरेलु हिंसा वा मानसिक रोग भएका कारण बाबु-आमाले सुरक्षाको प्रत्याभूति गराउन नसकेका केटा-केटीहरु धेरै हुने गर्दछन् । टोनी ६ महिनाकि भइन् र उनी जन्मिएकै दिन राज्यले उनलाई संरक्षणमा लिएकाले फोस्टर प्यारएन्ट्ससँग बस्ने गर्दछन् । तिनीहरु टोनीका बुवा-आमा हैनन्, राज्यले टोनीको जिम्मेवारी तोकेका अभिभावक हुन् । टोनी महिनामा एकचोटि आफ्नो आमालाई भेट्न पाउँछिन् । टोनीको बुवाको भने ठेगाना लागेको छैन ।

टोनी असाध्यै चन्चले बच्चा हुन् । अघिसम्म्म मेरो मुखमा हेरेर हाँस्दै खेलिरहेको बच्चाको उनको आमाको बोली सुन्नेबित्तिकै अनुहारको रंग बदलियो । आमा नजिक आउने बेलासम्म त उनी पूरै जड बनिसकेकी थिइन् । मलाई त्यो एक घण्टाको समय कहिले बित्ला जस्तो भयो । टोनीलाई उनको फोस्टर अभिभावकको जिम्मा लगाइदिएपछि म अफिस फर्कें अनि टोनीको आमाको पृष्ठभूमि पढें । उनी सिंगल महिला रहिछन् । बाइपोलर समस्या रहेछ तर औषधि भने नियमित नखाने रहिछन् ।

उनको १५ वर्षकी अर्की छोरी पनि रहिछन् । गर्भवती हुँदा मानसिक स्वास्थ्य धेरै बिग्रेको रहेछ, चिच्याउने, कराउने अनि १५ वर्षकी छोरीलाई कुट्ने गर्दिरहिछन् । टोनी जन्मिएपछि पनि घरमा हिंसाका घटना हुने रहेछन् जुन टोनीले देखेकी थिइन् ।

घरेलु हिंसा सहेर बसेका परिवारमा हिंसाले बालबच्चालाई कस्तो असर पार्दछ भन्ने जानकारी भएको पाइँदैन । धेरैले भन्नुहुन्छ- हाम्रो झगडा हुँदा बच्चाहरु अर्को कोठामा थिए वा यो सानै छ कुरा बुझ्दैन । तर यो सत्य हैन ।

मेडिकल डाक्टरहरू भन्छन्- महिलाहरूले गर्भवती हुँदा चिन्ता लिनु हुँदैन, मन खिन्न गर्नु हुँदैन, खुसी रहनुपर्छ, सकारात्मक सोच्नुपर्छ । यो कुरा महाभारतकालअघि अष्टबक्रको पालामै स्थापित भइसकेको थियो ।

रामायण र महाभारतमा लेखिएअनुसार महाऋषि अष्टबक्र आफ्नै पिताले दिएको श्रापका कारण आठ प्रकारका अपाङ्गतासहित जन्मिएका थिए । उनको कथा आमा गर्भवती हुँदा के गर्न हुन्छ, के गर्न हुँदैन या के गर्यो भने के हुन्छ ? भन्ने कुरासंँग सम्बन्धित छ । अष्टबक्रको जीवनलाई बच्चा गर्भमा हुँदा आमाले सुनेका कुराले कति फरक पार्दोरहेछ भन्ने उदाहरणका रूपमा लिन सकिन्छ ।

महिला सशक्तीकरणको कुरा

महिला सशक्तीकरणको अर्थ पनि कहिलेकाहीँ सही अर्थमा व्याख्या भैरहेको हुँदैन । महिला सशक्तीकरणको अर्थ हाम्रो नेपालको कुनै दुर्गम गाउँका महिलाका लागि मानव भएर बाँच्न पाउने न्युनतम अवस्था सुरक्षित् गर्नु हुनसक्छ भने अस्ट्रेलियाको सिड्नीकी एक महिलाको लागि त्यो भन्दा फरक ।

समाजको विकास प्रक्रियासँगै सशक्तीकरणको अवस्था पनि सापेक्ष हुन्छ । पछिल्लो समयमा बढेका बलात्कारका घटनाले महिला सशक्तीकरणमा यौन जोडिनु पर्ने आवश्यकतालाई झन् उजागार गरेको छ । कुनै पुरुषले यौन हिंसा गरेको कुरा विनाधक छोरीले आमालाई सुनाउन सक्ने चेतनाको बिकास र अनी समाज र कानुनले त्यसको सुरक्षाको प्रत्याभूति नदिलाएसम्म बलात्कार सम्बन्धी घटनाहरुमा कमी आउने देखिदैन ।

मेरो शरीर, मेरो अधिकार

हाम्रो समाजको सिकाइ नै यस्तो छ कि महिलाको शरीर पुरुषको सम्पति जस्तो हो । हाम्रो विवाह परम्परामा कन्यादान दिँदा ‘मारे पाप पाले पुण्य’ भन्ने चलन छ । यसले गर्दा पनि पुरुषहरुमा दमनकारी चरित्र हावी भएको हो । अहिले यो कुरा कान्यादानमा उल्ट्याउनु पर्ने भएको छ कि- पाले पुण्य मारे तिम्रो ज्यान पनि खतरामा छ है !

महिलामा पनि यो चेतना जागृत हुनुपर्यो कि मेरो शरीर मेरो सम्पति हो र यसमाथि मेरो पूर्णअधिकार छ । मेरो शरीर, मेरो यौनिकता र हृदय कसैको लागि उपहार होइन । हो भने त्यही उचाइमा ससम्मान साटासाट गर्नेसँग बराबरीको हो ।

प्रकृतिले फरक तर बराबर र पूरक शरीर दिएको छ । पुरुषहरु महिलासँग परिचय भएको केही समयमै आफ्नो सक्कली अनुहार लुकाउँछन् र नक्कली पुरुषत्व देखाउन नाङ्गिन थाल्छन् त्यो अपराधिक मानसिकता हो भन्ने उनीहरुलाई कहिले पनि लाग्दैन । तर महिलाले त्यो कहिले सोचेको हुँदैन । यहाँसम्म कि आफ्नो अगाडि प्रकट हुन खोजेको अनैतिक र नक्कली पुरुष मानसिकतालाई भण्डाफोर गर्न महिला हिच्किचाउछन् । अनि हिंसाले झाँगिने ठाउँ पाउँछ । उत्पीडनको जिन्दगीलाई नियती भनेर जिउनेहरु हरेक कुना कुनामा भेटिन्छन् ।

जीवन बहुमूल्य छ, आँसुमा नडुबाउ । हो, नारी सहनशील हुन्छिन् र हुनुपर्छ तर कर्तव्यमा सहनशील बनौं यातना सहनमा होइन ।

अन्त्यमा, आउनुहोस् हिंसाको झार सँगसँगै उखेलौं, पहिले पुरुष महिला दुवैको मस्तिष्कबाट र त्यसपछि समाजबाट ।

(नारी निकुञ्ज अस्ट्रेलियाकी पूर्वसंयोजक अधिकारी अस्ट्रेलियास्थित एक गैरसरकारी कार्यालयमा महिला तथा बालबालिकाको सुरक्षासम्बन्धी मामिला हेर्ने अधिकारी हुन् ।)