राष्ट्रिय नाचघरमा बुद्ध थिएटर फेस्टिभलको विधिवत सुरु

चैत ०९, २०७७

एटुजेड अनलाइन खबर


काठमाडौं, चैत ९ : भगवान गौतम बुद्धको दर्शन तथा बोधिसत्वको प्रभावलाई रंगमञ्चमार्फत विश्वमाझ चिनाउने उद्देश्यसहित डबली थिएटरको आयोजनामा बुद्ध थिएटर फेस्टिभल सुरु भएको छ । आइतबार संस्कृतिविद् तथा साहित्यकार तुलसी दिवस, अभि सुवेदी रंगकर्मी मदनदास श्रेष्ठले फेस्टिभलको औपचारिक रुपमा समुद्घाटन गरे ।

उद्घाटन पछि बोल्दै कवि तुलसी दिवसले बुद्धको ज्ञान विश्वभर फैलिनुपर्ने बताए । कार्यक्रममा उनले नाटकको माध्यमबाट यो ज्ञान फैलनु झनै प्रभावकारी काम हुन सक्ने बताए । फेस्टिभलका निर्देशक पुस्कर गुरुङका अनुसार गत वर्ष नै फेस्टिभल आयोजना गर्ने तयारी थालिएको थियो ।

तर कोभिड–१९ को महामारी फैलिएपछि फेस्टिभल गर्न पाएन । उनले भने, ‘यसवर्ष बुद्ध सम्बन्धी बनेका नाटकहरू खोज्यौँ । हामीले पाँच वटा नाटक पायौँ र फेस्टिभलको आयोजना गर्न तम्सियौँ ।

उद्घाटनसँगै कार्यक्रममा लामामन्त्र र चर्या नृत्य प्रस्तुत गरिएको थियो । डबली थिएटरले  वाग्मती प्रदेश सरकार र सांस्कृतिक संस्थान राष्ट्रिय नाचघरसँग मिलेर गर्न लागेको  थिएटर फेस्टिभल शनिबारसम्म हरेक दिन ५ बजे बुद्ध कथामा बनेको नाटक देखाइन्छ ।

फेस्टिभलको पहिलो दिन भारतीय नाटक निर्देशक डा. दानी करमाकर निर्देशित ‘तथागत’ देखाइयो । महामारीका कारण कलाकारको टोली आउन नसकेपछि खिचेर पठाएको नाटक देखाइएको थियो ।

नाटकमा बुद्धले जाति व्यवस्था र छुवाछुतलाई नमान्ने प्रसंगलाई प्रस्तुत गरको थियो । नाटकमा कथित तल्लो जातका एक युवकले पानी छोइदिएको निहुँमा कथित माथिल्लो जातका मानिसहरू उनलाई कुट्न तम्सिन्छन् । आफूमाथि ज्यानको संकट आएको देखेपछि ती युवक सहाराको खोजीमा चिच्याउँछन् । यहीबेला बुद्ध आउँछन् र तिनलाई संरक्षण गर्छन् । अँगालोमा राखेर लुकाउन खोज्छन् ।

तर, जब उसले बुद्धलाई देख्छ युवक झन् तर्सन्छ ।  युवक ‘मलाई नछुनुहोस्, तपाई दुषित हुनुहुनेछ’ भन्दै बुद्धलाई पन्छाउन खोज्छ । तब बुद्ध भन्छन्– किन दुषित हुन्छु म ? तिमी पनि सबै जस्तै मानिस हो । एक मानिसले अर्काे मानिसलाई कसरी दुषित बनाइदिन सक्छ ? केवल लाज, घृणा, भ्रम, लोभ, मोह, तृष्णाले मात्रै मनुष्यलाई दुषित बनाउन सक्छ ।’ बुद्धको यो वाणाी सबैले मनन गरेसँगै नाटक सकिन्छ ।

सोमबार फेस्टिभलमा विकास जोशीको निर्देशनमा रहेको ‘सिद्धार्थको गृहत्याग’ मञ्चन हुने जारी विज्ञपितमा उल्लेख छ । यो नाटकले दुःखसँग सिद्धार्थ गौतमको साक्षात्कार र यसको  उत्तरको खोजीमा उनले गरेको मानसिक संघर्षलाई प्रस्तुत गर्नेछ । नाटकले सिद्धार्थले बुद्ध बन्न गृहत्याग गर्नुअघिको प्रसंगलाई समेटेको छ । १ घन्टा अवधिको नाटकको कथा प्रेमविनोद नन्दनले लेखेका हुन् । नाटकमा सुचिता उप्रेति, तुफान थापा, अस्मिता खनाल, देबिशा लामिछाने, अभिषेक शर्मा आदि कलाकारको अभिनय रहनेछ ।

मंगलबार झोराहाट नाट्य समूहको प्रस्तुति रहेको रविन्द्रनाथ टैगोर लिखित नाटक ‘मालिनी’ मञ्चन हुनेछ ।