जसले नयाँ घरपरिवार पाए

चैत ०९, २०७७

एटुजेड अनलाइन खबर


काभ्रे(पनौती), चैत ९ : बैतडीको दशरथचन्द नगरपालिका–१० को सत्पाली गाउँ । त्यही गाउँमा दुःखकष्ट झेलेर बस्थे ६ जना दिदीबहिनी । बिरामी बुबा राजुराम लावडलाई औषधि लिन भारतीय बजार पिथौरागढ गएकी आमा मीनादेवी बेपत्ता भएको तीन वर्ष भइसकेको थियो ।

बिरामी बुबाको पनि एक वर्षअघि मृत्यु भयो । त्यसपछि सहाराविहीन बनेका दिदीबहिनी बिचल्लीमा परेका थिए । उनीहरूलाई हेरविचार गर्ने आफन्त कोही थिएनन् । गाउँमै रहेको जीर्ण एककोठे घरमा साँझबिहानको छाक टार्न धौधौ पर्ने समस्यासँग उनीहरू जुधिरहेका थिए ।

जेठी १५ वर्षकी नीलमले आफू र बहिनीको हेरविचार गरिरहेकी थिइन् । गाउँमै मागेर गुजारा चलाइरहेका उनीहरूको अवस्थाबारे जानकारी पाएपछि नगरपालिकाले केही खाद्यान्न सहयोग गर्दै आएको थियो । जंगल छेउको घरमा बसिरहेका उनीहरूको सुरक्षा र भविष्यबारे केही टुंगो थिएन । गाउँकै सरकारी विद्यालयमा पढ्ने उनीहरू आलोपालो विद्यालय जान्थे ।

गत भदौ २३ गते कान्तिपुर दैनिकमा ‘किशोरीको काँधमा पाँच बहिनीको जिम्मेवारी’ शीर्षकमा उनीहरूबारे समाचार प्रकाशित भयो । त्यही समाचारले उनीहरूको दुःख र अभावको जीवन नै फेरिएको हो । बालिकाहरूले नयाँ जीवन दिने आमाबुबा र बस्ने सुन्दर घर पाएका छन् । ६ महिनाअघि काभ्रेको पनौतीस्थित एसओएस बालग्राममा पुगेका उनीहरूको बोलीचाली, रहनसहनदेखि दैनिकी नै फेरिएको छ ।

अघिल्लो आइतबार एसओएस बालग्राम पनौती पुग्दा उनीहरू एसओएसकै विद्यालयमा पढ्न गएका थिए । दिउँसो १ बजे फर्किएपछि हेरचाह गर्ने आमा अम्बिका सिम्खडाले बनाएको खाजा खाए । त्यतिबेला म पनि उनीहरूले आश्रय लिइबसेको घर पुगिसकेकी थिएँ ।

काभ्रेको पनौतीस्थित एसओएस बालग्रामको आँगनमा नीलम र उनका बहिनीहरू । तस्बिर : तृप्ति शाही/कान्तिपुर

मेरो कार्यक्षेत्र बैतडीमा हुँदा धेरै पटक घरै पुगेर उनीहरूले बेहोरिरहेका समस्याबारे निरन्तर समाचार लेखिरहेकी थिएँ । बैतडीबाट ६ जना दिदीबहिनी गत असोज ८ गते काभ्रे आउँदा उनीहरूको बिदाइसम्म सहभागी भएकाले उनीहरूलाई चिन्न कुनै समस्या थिएन । देख्नासाथ खुसी भएका उनीहरूमध्ये सबैभन्दा कान्छी माया काखमै लुटपुटिन आइन् । सबै बहिनीहरूसँग भलाकुसारी भयो ।

  • ६ दिदीबहिनीलाई बालग्रामको जिम्मा

पनौतीस्थित एसओएसको मनोहरा नामक घरमा उनीहरू बसिरहेका छन् । उनीहरूलाई आमा अम्बिका सिम्खडाले हुर्काइरहेकी छन् । उनीहरूलाई सुखद भविष्यतर्फ डोर्‍याउने बुबाको जिम्मेवारी एसओएसका निर्देशक सुरेन्द्र अम्गाईंले सम्हालेका छन् । उनीहरूले धेरै राम्रो सुविधा पाएको र कुनै अभाव नभएको बताए । सुरुमा भाषाको समस्या भए पनि अहिले नेपाली बोल्न राम्रोसँग आउने सुनाए । नीलमले भनिन्, ‘पढाइ पनि राम्रैसँग गरिरहेका छौं । सुरुमा गाह्रो भएको थियो । अहिले ठिकै भइरहेको छ । पढेर ठूलो मान्छे बन्ने सपना छ । बहिनीहरू पनि पढिरहेका छन् ।’

नीलमकी सबैभन्दा कान्छी ४ वर्षीया बहिनी माया । तस्बिर : तृप्ति शाही/ कान्तिपुर

जेठी नीलम कक्षा ८ मा पढ्छिन् । त्यसपछिका १३ र १२ वर्षीया इन्द्रा र पार्वती ५ कक्षामा पढिरहेका छन् । १० र ९ वर्षकी लक्ष्मी र विन्दु ३ कक्षामा पढिरहेका छन् । सबैभन्दा कान्छी ४ वर्षकी माया नर्सरीमा पढिरहेकी छन् । नीलमलगायत उनका ६ जना दिदीबहिनीसँगै ४ जना अरू बालबालिका पनि एसओएसको मनोहरा घरमै बस्छन् । उनीहरू १० जना एकै परिवारका हुन् । आमा अम्बिकाले नै उनीहरूको हेरविचार गरिरहेकी छन् । बुबा सुरेन्द्र भने बेला–बेला बच्चाहरूको पढाइसँगै अन्य समस्या बुझ्न पुग्छन् । एसओएसभित्र १४ वटा यस्तै घरहरू छन् ।

गत भदौमा बैतडीको दशरथचन्द नगरपालिका–१० सत्पालीस्थित घरमा १५ वर्षीया नीलम लावड र उनका ५ बहिनी । फाइल तस्बिर : तृप्ति/कान्तिपुर

१४ घरमा १४ जना आमाहरू छन् । आमाको केही काम परेका बेला आन्टीहरूले उनीहरूको हेरविचार गर्छन् । एसओएसमै कार्यरत विनोदमणि भट्टराई सबै बालबालिकाको अंकल हुन् । कान्तिपुरमा समाचार प्रकाशित भएकै दिनबाट उनीहरूलाई धेरै संघसंस्था र व्यक्तिहरूले जिम्मा लिने भन्दै खबर गरेका थिए । अन्त्यमा नगरपालिकाका प्रतिनिधि र बैतडीका प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले एसओएसको जिम्मा लगाउने निर्णय गरे । एसओएस पनौतीमा बैतडीस्थित सेनाको हनुमान ध्वजका गुल्मका गुल्मपति प्रवीन थापाले समन्वय गरेका थिए ।

निर्देशक अम्गाईंका अनुसार अहिले छोरीहरू राम्रोसँग पढिरहेका छन् । सुरुमा भाषाको समस्या रहे पनि अहिले सिकिसकेको उनले सुनाए । उनीहरूलाई कुनै अभाव महसुस नहुने गरी आफूहरूले संरक्षणमा राखेको उनको भनाइ थियो । कान्तिपुर दैनिकबाट ।