पाँच महिनापछि दिएको कोभिशिल्ड र एस्ट्राजेनिका खोपको दोस्रो मात्राले पनि काम गर्छ

साउन ३०, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, साउन ३० : पाँच महिनाको अन्तरालमा दिएको कोभिशिल्ड र एस्ट्राजेनिका खोपको दोस्रो मात्राले पनि काम गर्ने जनाइएको छ ।

कोभिशिल्ड र एस्ट्राजेनिका खोप लगाउँदा दुई मात्रा बीचको अन्तराल २ देखि ३ महिना हुनुपर्छ भनिए पनि पाँच महिनापछि दोस्रो डोज लगाए पनि काम गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्पष्ट पारेको छ ।

विभिन्न अध्ययनहरुले पहिलो मात्राले पनि काम गरिरहने र धेरै समयको अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि प्रभावकारी हुने देखाएको मन्त्रालयले जनाएको छ ।

‘लामो अन्तरालमा दोस्रो मात्रा लगाउँदा पनि खोपले काम गर्छ । कोभिशिल्ड र एस्ट्राजेनिका एकै प्रकृतिका खोप हुन् । त्यसैले कोभिशिल्डको पहिलो मात्रा लगाएकाहरुले ढुक्क भएर एस्ट्राजेनिका खोप लगाऔं,’ मन्त्रालयले भनेको छ, ‘आफ्नो पालो आएपछि खोप लगाऔं र सुरक्षित रहौं ।’