रोबोटमा यसरी हुँदैछ मानवीय चेतना भर्ने काम

साउन ३०, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, साउन ३० : ऐनामा आफूलाई हेरेर आफ्नै चिन्ने जस्ता कग्निटिभ टेस्टहरु रोबोटहरुले पास गर्दैछन् । मानिसहरुको टाइम सेन्स जस्ता कुराहरुमा पनि प्रोग्रामिङ भइरहेका छन् ।

यसले बिस्तारै आगामी दिनमा मेसिनहरू कसरी हाम्रो दैनिक जीवनको महत्वपूर्ण हिस्सा बन्दैछन् भन्ने कुरा देखाएको छ । २०१६ मा पहिलो पटक घर, सैन्य क्षेत्र, पसल र अस्पतालहरूमा प्रयोग हुने रोबोटको संख्या उद्योग क्षेत्रमा भन्दा धेरै देखियो ।

फ्याक्ट्री तथा उद्योगमा मात्र सीमित नभएर रोबोटहरू मानिसहरूको घर र जीवनमा पनि प्रवेश गर्न थाले । रोबोटहरू थप अत्याधुनिक र भावना अनुभूती गर्न सक्ने बन्दै गइरहेका छन् । रोबोटको पहुँच बिस्तार भइरहेको यो ट्रेन्ड थप बढ्दै जाने देखिन्छ ।

नेदरल्याण्डस्थित राडबाउड विश्वविद्यालयका असिस्टेन्ट प्रोफेसर डा पाब्लो लानिलोस भन्छन्, ‘हामी फ्याक्ट्रीबाट रोबोटलाई घरमा ल्याएर आउँदैछौं भने हामी सुरक्षा पनि चाहान्छौं ।’

मानिसहरुसँग मेसिनले सुरक्षित रुपमा अन्तरक्रिया गर्न उनीहरू मानिसहरू जस्तै हुन आवश्यक रहेको लानीलोस् बताउँछन् । उनले एउटा एल्गोरिदम बनाएका छन्, जसबाट रोबोटले पनि मानिसले जस्तै आफूले आफैलाई चिन्नसक्छ ।

मानिस र रोबोटमा भएको मूख्य भिन्नता भनेको वास्तविक वा सही सेन्सर हुन्छ । मानिसहरू सबै कुराबाट प्रभावित भएर नतिजामा पुग्छ । तर रोबोट वास्तविकतामा आधारित हुन्छ । उसको सेन्सर मानिसहरूको भन्दा धेरै हदसम्म सही हुन्छ । यसले सही उत्तर दिन्छ ।

मानिसहरूको मस्तिष्कले यहि अवस्थाबाट प्रभावित हुने जानकारीलाई प्रयोग गरेर शरीरको क्रियाकलापलाई निर्देशन दिने र विश्व ब्रम्हाण्डलाई बुझ्ने काम गर्छ । यसरी हेर्ने हो भने रोबोटहरूलाई कुनै किसिमको अनिश्चिततासँग व्यवहार गर्न प्रयोग गरिँदैन ।

वास्तविक अवस्थामा धेरै गल्ती हुन्छ, साथै वास्तविक विश्व र रोबोटले निर्माण गरेको विश्वको मोडलमा पनि भिन्नता हुने डा। लानीलोस बताउँछन् । उनी भन्छन्, ‘हाम्रो रोबोटमा भएको प्रमुख समस्या भनेको जब अवस्था परिवर्तन हुन्छ, तब रोबोटहरू पनि असफल हुन्छन् ।’

दुई वर्षको उमेरमा मानिसहरूले आफ्नो शरीर र बाहिरी ‍वस्तुहरूबीचको भिन्नता बारे बताउन सक्छन् । तर दुई वर्षको बच्चाले गर्नसक्ने कुरा कम्प्युटिङ मार्फत मसिनद्वारा गराउनु एकदमै जटिल कुरा हो । विश्वलाई नै नेभिगेट गराउने गरी रोबोटलाई सिकाउन एकदमै गाह्रो छ ।

आफैलाई चिन्न सक्ने क्षमता
सेल्फसेप्सन नामको एउटा परियोजनामा डा. लानिलोस र उनका सहकर्मीहरूले विकास गरेको एल्गोरिदमले तीन फरक किसिमका रोबोटलाई बाँकी बस्तुहरूबाट उनीहरूको शरीरबीचको भिन्नता छुट्याउन सक्षम बनाउँछ ।

ती रोबोटहरूमध्ये एउटाको शरीरमा महसुस गर्न सक्ने किसिमको छाला लगाइएको छ । अर्कोमा नोन सेन्सरी इनएक्युरेसी रहेको छ र अर्को कमर्शियल मोडल रहेको छ ।

लानिलोसको टोली यी तीन रोबोटहरूले विभिन्न सेन्सर‍ सम्बन्धी जानकारी प्राप्त गरेको खण्डमा कस्तो किसिमको प्रतिक्रिया दिन्छ भन्ने कुराको अनुसन्धान गर्न चाहन्छ ।

एल्गोरिदम राखिएको एउटा रोबोटले रबर ह्याण्ड इल्युजनको एउटा परीक्षण पास गरेको थियो । यो परीक्षण एक मानिसमा पनि प्रयोग गरिएको थियो ।

डा। लानिलोसका अनुसार एउटा वास्तविक हातलाई प्लास्टिकको हातले कभर गरेर त्यसपछि ती दुवै वास्तविक र फेक हातलाई प्रोत्साहित गरिएको थियो । त्यसको केही मिनेटमै मानिसहरू झुक्किएका थिए ।

मानिसहरूलाई झुक्याएको जस्तै गरी रोबोटलाई पनि झुक्याउन उक्त प्रयोग गरिएको थियो । साथै उक्त परीक्षणको उद्देश्य रोबोटभित्र कसरी धेरै सेन्सहरू कति व्यवस्थित रूपमा मिलाइएको छ र रोबट अवस्थाअनुसार कत्तिको घुलमिल हुनसक्ने रहेछ भन्ने कुराको मापन गर्नु पनि थियो ।

उक्त परीक्षणमा रोबोट पनि मानिसले जस्तै नक्कली हातलाई वास्तविक हात भनेर झुक्किएको थियो र अवस्थासँगै अभ्यस्त हुनसक्ने परीक्षा पास गरेको थियो । दोस्रोपटक अर्को सामान्य परीक्षण भएको थियो ।

यो परीक्षण भने प्राइमेटोलोजिस्टहरुले ९अर्थात् बाँदर, ढेँडु गोरिल्लाहरू जस्ता प्रजाती विज्ञ० प्रस्ताव गरेका थिए । यो परीक्षणमा मानिस र जनावरको निधारमा एउटा रातो थोप्ला बनाइएको थियो । त्यसपछि उनीहरुले आफैलाई ऐनामा हेर्नुपर्ने थियो । बाँदरजस्ता केही प्रजातीहरुले ऐनामा हेर्नुको साटो राता थोप्ला पुछेका थिए ।

यो परीक्षणको उद्देश्य मानिस वा जनावरहरुमा कतिको सचेतना रहेछ भन्ने कुरा निर्धारण गर्नु थियो । बालबालिकाहरु दोस्रो वर्षपछि सामान्यतया यस्तो परीक्षण उत्तीर्ण गर्छन् । उक्त टिमले यो परीक्षणका लागि भने रोबोटलाई तयार गरेको थियो ।

जहाँ रोबोटले आफ्नो हात हल्लाउँदा छायाँमा पनि हाल्लिएको हात देखेर आफूलाई चिन्न सक्ने बनाएको थियो । अहिले उनीहरु यो रोबोटलाई त्यो रातो थोप्ला पुछ्न सिकाइरहेका छन् ।

यो रिसर्चको अर्को चरणमा रोबोटहरुमा सेन्सरहरु थप गरिनेछ । जसबाट यसले कम्प्युटिङ गर्ने सूचना बढाएर विश्वप्रतिको यसको बुझाइलाई सुधार गरिनेछ ।

मानिसको आखाँभित्रको रेटिनामा १३ करोड रिसेप्टर्स, प्रत्येक औँलाको टुप्पोमा तीन हजार टच रिसेप्टर्सहरु हुने डा। लानिलोस् बताउँन् । यति धेरै तथ्यांकहरुबीच अन्तरक्रिया गर्नु रोबोटिक्सको एउटा ठूलो चुनौती हो ।

उनी भन्छन्, ‘यी सबै तथ्यांक र जानकारीहरुलाई अर्थपूर्ण ढंगले समायोजन गरी रोबोटको शारीरिक सचेतना बढाउनु र विश्वप्रतिको बुझाईलाई सुधार गर्नु ठूलो चुनौती हो ।’

रोबोटको समय सम्बन्धी सेन्सरलाई सुधार गर्न सकियो भने पनि यसले मानिसहरु जसरी काम गर्नसक्ने हुन्छ । साथै मानिसहरुको जीवनशैलीसँग चाँडै नै घुलमिल हुन्छ ।

अमेरिकास्थित सुसेक्स विश्वविद्यालयमा स्याकलर सेन्टर फर कन्सियस साइन्सका सह निर्देशक अनिल सेठ भन्छन्, ‘हाम्रो स्वभाव र विश्वसँगको अन्तरक्रिया लगायतका सबै कुरा समयप्रतिको हाम्रो पर्सेप्सनमा आधारित हुन्छन् ।’

सेन्स अफ टाइम
प्राध्यापक सेठले पनि टाइमस्ट्रोम नामको एउटा परियोजनमा काम गरेका थिए । जसमा मानिसहरुले समयलाई कसरी आत्मसाथ गर्छन् भन्ने कुराको परीक्षण गरिएको थियो । त्यसबाट प्राप्त ज्ञानलाई मेसिनमा कसरी प्रयोग गर्न सकिन्छ भनेर अध्ययन भएको थियो ।

रोबोटभित्र घडी राख्दैमा त्यसले समसामयिक चेत पैदा गराउन नसक्ने प्राध्यापक सेठ दाबी गर्छन् । उनी भन्छन्, ‘मानिस र जनावरहरुले टाउकोमा घडी राखेर समयलाई बुझ्दैनन् । मानिसले समयलाई कसरी लिन्छ र बुझ्छ भन्ने कुरामा बायस र डिस्टर्नसहरुले काम गरिरहेका हुन्छन् ।

टाइमस्ट्रोमको अनुसन्धानलाई नेतृत्व गर्ने सुसेक्स युनिभर्सिटीका कग्निटिभ वैज्ञानिक व्यारिक रोसबुम मानिसहरुले समयको अन्तराललाई कसरी अनुभव गर्छन् भन्ने कुराको मापन गर्न केही प्रयोगहरुको श्रृंखला नै तयार गरेका थिए ।

उनी भन्छन्, ‘हामीले मानिसहरुलाई केही सेकेण्डदेखि एक मिनेटको समसम्मका विभिन्न भिडियोहरु हेर्न लगायौं । त्यसपछि हामीले उनीहरुलाई त्यो भिडियो कति समयको थियो जस्तो लाग्यो भनेर अनुभूति सोध्यौं ।’

वास्तविक समयभन्दा वस्तुलाई अनुभव गर्ने समय सधैं फरक हुन्छ । दृश्य कति व्यस्त राख्ने किसिमको थियो भन्ने कुराले यसलाई निर्धारण गर्छ । यही जानकारीलाई प्रयोग गरेर अनुसन्धानकर्ताहरुले एउटा सिस्टम बनाए ।

जुन मानिसहरुको नक्कल गर्नसक्ने डिप लर्निङमा आधारित थियो । त्यसले राम्ररी काम गरेको प्राध्यापक सेठ भन्छन् । ‘यसबाट हामीले हाम्रो सिस्टममा मानिसहरुले समय अवधिलाई कसरी अनुभूत गर्छन् भन्ने कुराको एकदमै वास्तविक तरिकाले अनुमान गर्न सक्ने भयौं ।’

यो परियोजनाको मूख्य ध्यान भनेको मेसिन र मानिसहरु सँगसँगै समयको एउटै अन्दाजमा काम गर्ने कुराको अनुसन्धान र प्रदर्शन गर्नु हो । गएको दश वर्षमा रोबोट सचेतनाको क्षेत्रमा उल्लेखनीय प्रगति भएको छ ।

डा। लानिलोसका अनुसार आगामी दशकमा यो क्षेत्रमा थप अत्याधुनिक र प्रगतिहरु देखिनेछन् । रोबोटहरु थप चेतनशील हुने छन् ।

(एजेन्सीको सहयोगमा)