तालिबानले कब्जा गर्नै लागेपछि काबुलका दूतावास धमाधम खाली गर्दै विभिन्न देश

साउन ३०, २०७८

एटुजेड अनलाइन खबर


तालिबान, साउन ३० : विद्रोही तालिबानले कब्जा गर्नै लागेपछि विभिन्न देशले अफगानिस्तानको राजधानी काबुलमा रहेका आआफ्ना कुटनीतिज्ञ तथा कर्मचारीहरूलाई धमाधम त्यहाँबाट सुरक्षित रूपमा निकाल्ने प्रयास गरिरहेका छन्।

यसका लागि अमेरिकाले अफगानिस्तानमा आफ्नो सेना पठाइसकेको छ भने अन्य धेरै देशले पनि त्यहाँ (काबुलमा) रहेका आफ्ना कर्मचारीबारे चिन्ता जनाइरहेका छन् भने उनीहरूलाई त्यहाँबाट सकुशल उद्धारको प्रयास थालेका छन्।

यहीबीच तालिबानको आक्रमण बढिरहेकाले कतिपय देशलाई आफ्ना कुटनीतिज्ञ र कर्मचारीलाई त्यहाँबाट फिर्ता ल्याउन कठिन भइरहेको छ।

तालिबानले शुक्रबार अफगानिस्तानको दोस्रो र तेस्रो ठूला सहर कब्जा गरिसकेको छ। अफगानिस्तानको सरकारी सुरक्षा बल तालिबानी लडाकुको सामना गर्न असक्षम भइरहेको छ।

तालिबान यसरी अघि बढिरहेको छ कि उसले राजधानी काबुल पनि चाँडै नियन्त्रणमा लिने सम्भावना बढेको बीबीसीले जनाएको छ।