विद्यालय भवन छोड्नै मान्दैन प्रहरी

भदौ ०५, २०७८

एटुजेड अनलाइन खबर


रुकुम पूर्व, भदाै ५ : सिस्ने गाउँपालिका–८ धपेस्थित आधारभूत विद्यालय भवनमा स्थापना गरिएको प्रहरी कार्यालय अन्यत्र सार्न नमानेपछि स्थानीयले विरोध गरेका छन् । झन्डै दुई वर्षअघि यहाँ अस्थायी प्रहरी कार्यालय स्थापना गरिएको हो ।

सञ्चालन भइरहेको विद्यालय विद्यार्थी संख्या कम भयो भनेर बन्द गराएर प्रहरी कार्यालय राख्नु गलत भएको स्थानीय पैलाभान पुनले बताए । विद्यालय बन्द हुँदा ससाना बालबालिका पठनपाठनका लागि टाढा जानुपर्ने बाध्यता छ । ‘घरनेरैको विद्यालय बन्द भएपछि बालबालिका एक–डेढ घण्टा उकालो चढ्न बाध्य छन्,’ स्थानीय दुर्गा मल्लले भनिन्, ‘विद्यालय सञ्चालन होला भनेको विद्यालयमा प्रहरी कार्यालय राखियो ।’ विद्यार्थी संख्या कम भयो भनेर विद्यालय नै बन्द गर्नु गलत भएको उनको भनाइ छ ।

विद्यार्थी संख्या कम भएपछि यस विद्यालयलाई गाउँपालिकाले सानीभेरी मावि लम्पाकोटमा गाभेको थियो । केही समय गाउँपालिकाले विद्यालयमा बजेट पनि पठाएको थियो तर अन्तिममा विद्यार्थी नपुगेको र अरु व्यवस्थापन पनि खस्किएको भनेर विद्यार्थी भर्ना नगरी शिक्षकलाई अन्यत्रै पठाइएको हो । त्यतिबेला पनि स्थानीयले विद्यालय नियमित सञ्चालनको वातावरण बनाउन माग गरेका थिए ।

वडा सदस्य महेश विकले विद्यार्थी नभएको र अरू व्यवस्थापन नपुगेपछि विद्यालय गाभिएको बताए । लामो समयदेखि कामविहीन बनेको विद्यालयमा पछि प्रहरी कार्यालय राखिएको उनको भनाइ छ । विद्यालय नचलेपछि विद्यालय आसपासका बालबालिका भने टाढा जानुपर्ने बाध्यता रहेको उनले स्विकारे ।