उपन्यास अंश : त्यो नेपाली केटा

भदौ ०५, २०७८

एटुजेड अनलाइन खबर


‘संसारको अन्य भूखण्डमा सूर्योदय हुनुपूर्व नै तिब्बतका हिमशिखरहरू झलमल्ल हुन्थो’, लोप्साङका बाजे यस्तै सुनाउँथे ।

‘हाम्रो देशमा बहने नदीको पानीमात्र पिएर पनि महिनौं बाँच्न सक्थ्यौं,’ दाबा छोथाककी आमा सुनाउँथिन् ।

तिब्बतमा सबैभन्दा चाँडो सूर्योदय भए पनि लोप्साङका बाजे सत्तरी नपुग्दै अस्ताए । दाबा छोथाककी आमाले त झन् पैंतिस-चालिसमै सेतीमा हेलिएर दुईदिने चोला बिसाइन् । मान्छेहरु भन्थे, उनमा दिमागी गडबडी छ ।

बेलाबखत मैले पनि देखेकी हुँ, उनी सेती नदीको किनारैकिनार दौडन्थिन् । उनी त्यसरी किन दौडन्थिन् मैले कहिल्यै बुझिनँ ! एकदुईपटक आमासँग सोधें ।

‘तिब्बत हुँदै निस्केर आउने नदीले सुनको डल्लो बगाएर ल्याउँछ, त्यही खोज्न गएकी हुन् ।’

आमाले साँच्चै भनेकी थिइन् वा ठट्टा गरेकी हुन् मैले बुझिनँ ।

महिना दिनपछि एक रात सेती नदीको सतह घनघोर बढ्यो । त्यही बेला सुन खोज्न गएकी दाबाकी आमा कहिल्यै फर्केर आइनन् । सबैले लख काटे, उनलाई सेतीले निल्यो । क्याम्पका मान्छेहरु धेरै तलसम्म खोज्न गए । तर कसैले पनि उनलाई भेटेनन् । उनको अध्याय त्यसै सकियो ।

ममा पनि सेती किनारमा सुन खोज्न जाने रहर पलायो । तिब्बतबाट बहेर आएको सुन भेटेपछि नेपाली आइमाईहरूझैं कानभरि, गलाभरि गहना लगाउने लालसाले एक दुईपटक सुटुक्क सेतीमा पुगें पनि । मैले सुन त भेटिनँ तर आमाको गाली भने मजाले भेटें । त्यसपछि सुन खोजेर झपक्क सिँगारिने रहर रहरमै सीमित रह्यो ।

मान्छेहरुले सुनाउँदै गए । उमेर बढ्दै गयो । मैले बुझ्दै गएँ । एक वस्तु र अर्को वस्तुमा जस्तै मान्छे-मान्छेबीचमा पनि भिन्नता हुँदो रहेछ । एकै भू-धरातलमा बसे पनि हामी अरुभन्दा फरक रहेछौं । हुन त हाम्रो बाहिरी आवरण र बोलीचाली धेरै हदसम्म स्थानीयसँग मिल्थ्यो । पुरानो पुस्ताभन्दा हामी शारीरिक रुपमा पनि परिमार्जित भइसकेका थियौं । स्थानीय हावापानीले हामीलाई बिलकुलै नेपाली अनुहार दिएको थियो ।

छालाको रङ्ग र बोलीको माधुर्य उस्तै भए पनि हामी भिन्न थियौं । मैले बुझ्दै गएँ, हामी तिब्बती हौं । हाम्रो देश तिब्बत हो । परिस्थितिले हामीलाई तिब्बतको उच्च भूखण्डबाट तल खसालेर यो बगरमा मिल्काइदियो । युद्धको कालो छायाबाट बच्न भागेका पुर्खाले हामीलाई त्यस्तो युद्धमा होमिदिए, जसको अन्त्य कहिले हुने हो, थाहा छैन ।

एकाएक हामी देशविहीन र परिचयविहीन शरणार्थी (चेन चोल वा) भयौं । मात्र शरणार्थी शब्दका अगाडि पुर्खाको देशको नाम जोडियो । हामी त्यस्ता शरणार्थी जसको आफ्नो कुनै भूगोल हुँदैन, न त उसको कुनैइच्छा हुन्छ । पूर्ण हुने सम्भावना भएकालाई पो इच्छा भनिन्छ । पूर्ण नहुने इच्छा त सिर्फ सपना हो । सपना अर्थात् कहिल्यै वर्तमानमा नआउने । कहिल्यै वास्तविकतामा प्राप्त नहुने ।

सेती नदीको बगरमा हाम्रो शरणार्थी क्याम्प थियो । हिमालदेखि बहँदै आएकी नदी क्याम्पको पूर्व हुँदै बहन्थिन् । नदीमाथि सानो झोलुङ्गे पुल थियो । स्थानीयले त्यस ठाउँको नामकरण गरेका थिए, पुल्चोक ।

पुल्चोकको झोलुङ्गे पुलदेखि माथि नदी किनारको डेढ किलोमिटर क्षेत्रमा प्रस्तरकलामा निपुण मूर्तिकारले बडो मिहिनेतका साथ बनाएका पत्थरका अनेकौं आकृति थिए । त्यसैले त्यसको नाम राखिएको थियो रक गार्डेन अर्थात ‘ढुङ्गे बगैंचा’ । खासमा हजारौं वर्षदेखि अनवरत बगिरहेकी सेतीको कटानले ती आकृति बनेका थिए । कुनै घोडाजस्ता, कुनै हात्तीजस्ता विभिन्न आकृति । त्यो भूखण्ड वास्तवमै मानवजातिका लागि प्रकृतिको मनोहर उपहार थियो ।

नदी पार भएपछि करिब सय मिटरजतिको उकालो आउँथ्यो । त्यो उकालो सकिएलगत्तै सुरु हुन्थ्यो, सानो बजार । जसको नाम थियो, दुलेगौंडा बजार ।

हामीले आश्रय लिएको भूखण्ड समथर भए पनि ठाउँठाउँमा तरेली परेको थियो । आफूलाई प्राप्त भूमिको सीमारक्षाका लागि हो वा खै किन हो ? हामी गुजमुज्ज एकै ठाउँमा बसोबास नगरेर फैलिएर बसेका थियौं । लगभग बीचोबीचमा पर्ने गरी हाम्रो स्कुल थियो ।

मेरो बाल्यकाल पनि आम बच्चाको जस्तै बित्यो । हामी शरणार्थीसँग आर्थिक वैभव त के नै थियो र ? तापनि मेरा आप्पा र आमाले मलाई अभावको अनुभूति नै गराएनन् । थाहा छैन, मेरो आवश्यकता पूर्तिका लागि उनीहरुले कति रहर मार्नु पर्यो , कति चाहना पर सार्नु पर्‍यो ?

०००

प्रायः कथामा नायक र नायिकाको भेटको संयोग रोमाञ्चकारी हुने गर्छ । सुन्दर परी र राजकुमारको भेटको संयोग कति मधुर हुन्छ । अझ चलचित्रमा नायक र नायिकाको भेटको संयोग झन् गजबको हुने गर्छ । तिम्रो र मेरो प्रथम भेटको संयोग भने अनौठो थियो

धेरैले भन्थे- सेरिक र म जुम्ल्याहा अचाग र चोमो (दिदीबहिनी) हौं । हामी दुईको शारीरिक बनावट र अनुहार धेरै हदसम्म मिल्थ्यो । मुख्य कुरा त मन मिल्थ्यो । मन मिलेपछि तनको के कुरा भो र ! कैयौं सम्बन्ध यस्ता हुन्छन्, जहाँ रगतको सम्बन्धभन्दा मनको सम्बन्ध घनिष्ट र प्यारो छ ।

सेरिक र मेरो धेरै कुरा मिले पनि जीवन-जगत्लाई सोच्ने शैलीमा भने कहिल्यै एकरुपता आउन सकेन । मलाई लाग्थ्यो, हाम्रो जीवन र जन्मको कुनै न कुनै उद्देश्य पक्कै छ । जस्तै: खोला हिमालबाट समुद्रतर्फ बहनुमा । हावाले शीतलता ल्याउनुमा । चराले मधुर गाउनुमा कुनै न कुनै कारण छ । यो जगत्मा बिनाकारण केही घटना हुँदैन । तर उनी भन्थिन्, ‘मानव जन्म त भोगका लागि हो । जीवनलाई सक्दो उपभोग गर्नुपर्छ । मरेपछिको दुनियाँ कसले पो देखेको छ र ?’ उनको विचारमा वस्तुको भोग नै जीवन हो ।

जुनसुकै मूल्य चुकाएर पनि भोगका लागि तत्पर रहनुपर्छ । आदि इत्यादि ।

कहिले त उनको र मेरो यस्तै कुरामा लामो बहस हुने गथ्र्यो । अन्त्यमा म भन्थें, ‘तिमीले भनेकै सही छ । म गलत रहेछु ।’

उनी मक्ख पर्थिन् । म उनको बुझाइले अवाक् हुन्थें ।

कैयौं विषयमा मतविभाजन भए पनि मूल विषयमा हामी समानान्तर रेखाजस्ता थियौं । म पनि शरणार्थी थिएँ र उनी पनि शरणार्थी नै थिइन् ।

फेरि एक दिन, वर्षाको कालो बादल सरक्क पन्छिएर एकाएक इन्द्रेणी देखिएजस्तै तिमीसँग मेरो भेट भयो ।

अँ, त विश्वदीप ! मैले तिमीलाई पहिलोपटक देखेको पनि आज नौ वर्ष पाँच महिना पूरा भयो । यदि मेरो गणना गलत छैन भने नौ वर्ष पाँच महिना उन्नाइस दिन पनि भएको हुनुपर्छ । आश्चर्य लाग्ला, मैले यति लामो समय कसरी गणना गरिरहेकी छु ? के मेरो सम्पूर्ण समय त्यही गणनामा नै बितेको हो ? यदि मलाई कसैले यस्तो प्रश्न गर्छ भने म स्वीकार पनि गर्छु र अस्वीकार पनि गर्छु । मेरा हकमा ती दुवै हुन् ।

स्वीकारोक्ति नै सत्य हुने हो भने म अर्को तथ्य स्विकार्छु । तिमीलाई देखेको पहिलो क्षणमै मैले सोचेकी थिएँ, मेरो जन्म तिमीमै समाहित हुनका लागि हो । म स्वयम्को अस्तित्व वा जीवनको प्राप्ति जे भने पनि मात्र तिमी हौ । जसलाई प्रेम भनिन्छ क्यारे । यसरी बुझ्दा म पहिलो नजरमै तिम्रो प्रेमपाशमा परिसकेकी थिएँ । तिमीमा प्रेमचेत नै थिएन वा तिमीले नबुझेको बहाना ग¥यौ, थाहा छैन । तिमीले मलाई प्रेमको परिधिभित्र कहिल्यै समेट्न खोजेनौ । म त तिमीभित्र अटाउनका लागि आफूलाई सुनझैं आगोमा जलाउन तयार थिएँ । मरुभूमिको बाटो भएर बहने नदीझैं बीचैमा सुक्न तत्पर थिएँ । तर तिमीले कुनै दायरा औंल्याएनौ, न मैले नै सोधें ।

फेरि सोचें, प्रेम त अनुभूति हो जुन शब्दमा व्यक्त हुँदैन । यो त मनको बुझाइ हो जुन नबोलेरै बताउन सकिन्छ । नसोधेरै बुझ्न सकिन्छ । हामीबीचको यो सामीप्य, यो मनमा उठेको राग सबै प्रेमाभासका प्रमाण होइनन् र ? तर मलाई के थाहा भौतिक रुपमा नजिक देखिनु मात्र हृदय नजिक भएको प्रमाण होइन । तिम्रो र मेरो दूरी आकाशमा अति नै नजिक देखिने दुई ताराबीचको दूरीजस्तो रहेछ । टाढाबाट हेर्दा नजिक देखिने, नजिक जाँदा कहिल्यै नभेटिने ।

प्रायः कथामा नायक र नायिकाको भेटको संयोग रोमाञ्चकारी हुने गर्छ । सुन्दर परी र राजकुमारको भेटको संयोग कति मधुर हुन्छ । अझ चलचित्रमा नायक र नायिकाको भेटको संयोग झन् गजबको हुने गर्छ । तिम्रो र मेरो प्रथम भेटको संयोग भने अनौठो थियो । तिमी अम्बा कुमा (अम्बा चोर) का रुपमा समातिएका थियौ । म पीडितको कित्तातर्फ उभिएर तिमीलाई हेर्दै थिएँ । तिमी पीडक, म पीडित, एक असामान्य परिस्थिति ।

हुन त हाम्रो क्याम्पमा यस्ता घटना भइरहन्थे । हामी शरणार्थीका अम्बा चोरिनु र उल्टै हामीलाई भोटे भनेर होच्याउनु कुनै नौलो विषय थिएन । नेपाली समुदायका मानिसले हेय भावमा भन्ने भोटे शब्दसँग म परिचित थिएँ । त्यो दिनको घटना भने सामान्य रहन पाएन । त्यो घटनाले त मेरो जीवनको मोड नै बदलिदियो ।

तिमी अम्बा मात्र चोर्ने अभिप्रायले आएका थियौ क्यारे । तिम्रो दुर्भाग्य- अम्बा चोर्न तिमी असफल भयौ । मेरो विवशता- अम्बा चोर्न असफल भएको बदलामा तिमीले मेरो सर्वस्व चोर्‍यौ । मेरा खुसी, मेरा उमङ्ग र मेरा सपना सबै लुटिए ।

करिब बीस जनाजति मान्छेले तिमीलाई घेरिरहेका थिए । त्यतिका मान्छेले घेरेर र्याखर्याख्ती पार्दा जतिसुकै साहसी भए पनि आत्मविश्वास लर्खराउँछ । हुलसँग मानिस लाचार हुन्छ । त्रासका कारण आफूले गर्दै नगरेको गल्ती पनि स्विकार्न विवश हुन्छ । तर त्यत्रा मानिसले चोर-आरोप लगाउँदा पनि तिमी कत्ति विचलित देखिएनौं कत्ति भयभीत भएनौं । तिमीसँगै समातिएका तिम्रा दुई साथी भने डरले कालोनीलो भएका थिए । मैले तिम्रो भयरहित मुहारमा एकतमास हेरिरहें । त्यही हेराइको अनुस्मृतिले नै मलाई पलभरमै कहाँबाट कहाँ पुर्‍यो !

तिम्रो निर्भय छवि, सुकुमार मुखाकृति र मुसुक्क मुस्काउने शैलीले हृदयको गहिराइमा जोडदार कम्पन उठायो । अनि एकाएक मनमा इच्छा, चाहना वा आशा केके जाग्न थाल्यो, थाहै भएन ।

हाम्रो क्याम्पको सबैभन्दा डरलाग्दो मान्छे ग्याम्जो दोर्जे । उसको भयानक अनुहार देख्यो कि मलाई दिउँसै भूत भेटेजस्तो डर लाग्थ्यो । उसले तिमीलाई खाउँलाझैं गरी हकार्यो, कुटुलाझैं गरी हात उज्यायो । उसको हाउभाउले रुनमात्र नसकेका तिम्रा साथीहरु डाँको छाडेरै रोइदिए । तर अचम्म तिम्रो मुहारमा डरको मसिनो रेखासम्म कोरिएन । तिमी त निर्भीकता साथ बोल्न पो थाल्यौ, ‘हामीले तिमीहरुको अम्बा चोरेकै हैनौं । तिमीहरुलाई सोधेरै टिप्न खोजेका थियौं । तिमीहरू कोही थिएनौ त के गर्ने ?’
तिमी उल्टै हाँसिदियौं । सबैले अनौठो माने । ग्याम्जो छक्क परेर पर गयो ।

तिमी मुक्त भयौ ।

हुन त तिमी कहिले पो कसका बन्धनमा थियौ र ! अम्बा चोरको आरोपमा समातिँदा पनि तिमी मुक्त नै थियौ । सेती नदीलाई साक्षी राखेर मैले कसिलोसँग बाहुपाशमा समेट्दा पनि तिमी मुक्त नै थियौ । तिमी सदा स्वच्छन्द नै रह्यौ । मजस्तो बन्धनमा कहिल्यै परेनौ । अनलाइन खबरमा प्रकाशित ।

(मालिका केशरीको आज सार्वजनिक हुने उपन्यास ‘दुङालबाट । उपन्यास सांग्रिला बुक्सले बजारमा ल्याएको छ)