गहुँका लागि मल अभाव नहुने

भदौ ०५, २०७८

एटुजेड अनलाइन खबर


पर्सा, भदौ ५ : प्रदेश २ मा गहुँ बालीका लागि रासायनिक मलको अभाव नहुने भएको छ । कृषि सामग्री कम्पनीको वीरगन्जस्थित क्षेत्रीय कार्यालयका प्रमुख गोरखनाथ केसीले केही परिमाणमा मल मौज्दात रहेको र केही आउने क्रममा रहेकोले धान रोपाइँ गर्दाको जस्तो अवस्था नदोहोरिने प्रतिबद्धता जनाए ।

गहुँ बाली लगाउने बेला विशेषगरी डीएपी मलको माग बढी हुन्छ । कार्यालयमा अहिले २ हजार १ सय ९४ मेट्रिक टन युरिया, २ हजार ९ सय मेट्रिक टन डीएपी र १ सय ८२ मेट्रिक टन पोटास मल मौज्दात छ । २५ हजार मेट्रिक टन डीएपी र ३० हजार मेट्रिक टन युरिया मल छिट्टै आउने क्रममा रहेकाले गहुँ बालीका लागि मल अभाव नहुने केसीको दाबी छ ।

‘डीएपी आयातको ठेक्का पाएको भारतीय आईपीएल कम्पनीले मल आयातको प्रक्रिया सुरु गरी सकेको छ,’ केसीले भने, ‘त्यसबाहेक युरिया मल ल्याउन स्विस सिंगापुर कम्पनीसँग सम्झौता हुँदै छ ।’

अब धान बालीका लागि युरिया मलको आवश्यकता नरहेको उनको भनाइ छ । तर धान गोडमेलपछि पनि मल हाल्नुपर्ने हुनसक्ने भन्दै किसानहरूले त्यतिबेला मलको पर्याप्त व्यवस्था मिलाइदिन आग्रह गरेका छन् । ‘अहिले अभाव छैन, रोपाइँ पनि करिब–करिब सकिएको छ,’ किसान संघ पर्साका अध्यक्ष असर्फी साहले भने, ‘धान गोडमेलपछि राख्नुपरे किसानलाई सास्ती नहोस् भन्नेमा सरोकारवालाले बेलैमा सोचुन् ।’

सर्लाहीमा अझै मल अभाव रहेको किसानहरू बताउँछन् । केसीले भने असाररसाउनमा ग्लोबल टेन्डरबाट जोशी बीज कम्पनीले १२ हजार ५ सय मेट्रिक टन युरिया मल ल्याएकोमा सोही लटको मल बिक्रीबितरण गरिरहेको बताए । ‘सर्लाहीलगायतका जिल्लामा सहकारीहरूको मल वितरण प्रक्रियामा केही समस्या हुन सक्छ,’ उनले भने, ‘तर माग भए जति मल सबै जिल्लामा परिचालन गरेका थियौं ।’

कार्यालयको तथ्यांकअनुसार साउनमा मात्र २ हजार १ सय २८ मेट्रिक टन युरिया, ८ सय १६ मेट्रिक टन डीएपी र ३९ मेट्रिक टन पोटास मल बिक्री भएको छ । गत आर्थिक वर्षमा कम्पनीको वीरगन्ज कार्यालयबाट १० हजार ६६ मेट्रिक टन युरिया, ५ हजार ३ सय २९.६ मेट्रिक टन डीएपी, ४ सय २७.६५ मेट्रिक टन पोटास र ७ सय ८ मेट्रिक टन कृषि चुन बिक्री भएको थियो ।