‘एमसीसीका कारण गठबन्धन टुट्दैन’

असोज ०२, २०७८

एटुजेड अनलाइन खबर


जनकपुर, असोज २ : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमसीसीका कारण गठबन्धन नटुट्ने बताएका छन्।

शनिबार जनकपुरमा माओवादी केन्द्र प्रदेश नम्बर २ को प्रशिक्षण कार्यक्रमको समापनपछि आयोजित पत्रकार सम्मेलनमा उनले एमसीसीभन्दा गठबन्धन महत्वपूर्ण रहेको बताए।

‘प्रतिगामी शक्तिले रोक्न खोज्दा खोज्दै बनेको गठबन्धन संविधानको रक्षा, राष्ट्रको रक्षाका लागि बनेकाले ढुक्क भएर बस्नुस्। गठबन्धनमा कुनै किसिमको विवाद छैन। यो गठबन्धन टुट्दैन,’ उनले भने।

प्रचण्डले सरकारले पूर्णता पाउन नसकेको विषयलाई बहाना बनाएर गठबन्धन तोड्नकै लागि गठबन्धनमा असन्तुष्टि रहेको भनी प्रतिगामी शक्ति मिलेर भ्रम सृजना गरिरहेको आरोप लगाए।