दसैँमा गाडी किन्‍ने सोच बनाउनुभएको छ ? यस्ता छन् आकर्षक छुट र उपहार

असोज ०२, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, असोज २ : चाडपर्व नजिकिएसँगै नेपालको अटो बजार चलायमान भएको छ । नेपालमा सवारीसाधनको कुम्भ मेला मानिने नाडा अटो शो हुन नसकेपनि यतिबेला ग्राहकहरू गाडी खरिदका लागि शोरुम नै धाउन थालेका छन् । ग्राहकलाई आफ्नो शोरुमसम्म तान्न सवारीसाधन बिक्रेताहरूले विभिन्न प्रकारका छुट तथा उपहारको व्यवस्था गरेका छन् ।

यस्ता छन् सवारीसाधन बिक्रेता कम्पनीको छुट र उपहार अफर

सुजुकी

सुजुकीका चारपांग्रे सवारीसाधनका लागि नेपालको आधिकारिक वितरक सिजी मोटोकर्पले दसैँ तिहारका लागि ‘सुजुकी पर्वोत्सव अफर’ योजना ल्याएको छ ।

यो योजना अन्तर्गत ग्राहकले २ लाख रुपैयाँ बराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म लोयल्टी बोनस, एक वर्षको सवारी बीमा र स्क्रयाच कार्ड मार्फत ७५ हजारसम्म अतिरिक्त छुट पाउनेछन् ।

साथै क्लियरन्स मोडेलका गाडीमा विशेष छुटको व्यवस्था समेत रहेको कम्पनीले जनाएको छ।

हुन्डाई

हुन्डाई गाडीका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘हुन्डाई फेस्टिभ डिलाइट २०७८’ योजना ल्याएको छ । उक्त योजनाअन्तर्गत ग्राहकहरूलाई गाडी खरिदमा बम्पर उपहारका साथै नगद छुटको व्यवस्था गरिएको छ । बम्पर उपहारअन्तर्गत एक ग्राहकले लक्की ड्रमार्फत हुन्डाई आई २० गाडी पाउने छन् ।

गाडी खरिदमा तीन लाख रुपैयाँसम्मको आकर्षक नगद छुटको व्यवस्था गरिएको छ भने स्क्र्याच कार्डमार्फत १ लाखसम्म थप नगद छुट पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले एक वर्षसम्मको बीमा र सडक कर (चालु आर्थिक वर्षको) पनि निःशुल्क गरेको छ ।

टाटा

टाटाको लागि नेपालको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले पनि दसैँ-तिहार योजना ल्याएको छ ।

योजना अन्तर्गत ग्राहकले २ लाखसम्म क्यास डिस्काउन्ट, उच्च एक्सचेन्ज बोनस, निशुल्क एक्सेसोरिज र एक वर्षको नि:शुल्क रोड ट्याक्स पाउनेछ ।

त्यस्तै, कमर्सियल गाडी खरिद तथा बुकिङ गर्दा ग्राहकहरूले चार पटकसम्म विभिन्न आकर्षक उपहारहरू प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

टाटाको मिनी ट्रक, मिनी टिपर, ट्रक, टिपर, बस, योद्धा, एस, विङर, इन्ट्रा र म्याजिक जस्ता गाडीहरूको खरिदमा ग्राहकहरूले एसी, वासिङ मेसिन, ल्यापटप, स्मार्ट टीभी, स्मार्टफोन, फ्रिज, ईएमआई, सर्भिस कुपन, क्यास ब्याक जस्ता आकर्षक उपहारहरू प्राप्त गर्न सक्नेछन् ।

हरेक साताको ‘लक्की ड्र’ मार्फत गाडी बुकिङ गर्ने ग्राहकहरूमध्ये एक जना ४० इन्चको एमआई स्मार्ट टिभी र बम्परलक्की ड्र मार्फत् गाडी खरिद गरेका ग्राहकहरूमध्ये ४३ जना ग्राहकले थप उपहार प्राप्त गर्ने जनाइएको छ ।

ड्याट्सन

नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले चाडवाडको अवसरमा ‘ड्याट्सन फेस्टिभ हट डिल’ योजना सार्वजनिक गरेको छ।

यो योजना अनुसार ग्राहकलाई २ लाख ४ हजार १ सय ५२ रुपैयाँ बराबरको विशेष सुविधा, १ लाख २५ हजार रुपैयाँ नगद छुट साथै कार खरिद गर्ने ग्राहकलाई २७ हजार ९ सय ९९ रुपैयाँ पर्ने रेड्मी नोट १० एस प्रदान गरिने कम्पनीले जनाएको छ ।

त्यस्तै १ वर्षको बीमा तथा सवारी कर, वारेन्टी तथा सर्भिसिङको व्यवस्था पनि गरिएको छ । ग्राहकलाई तत्काल फाइनान्स तथा एक्स्चेन्ज सुविधाको व्यवस्था पनि गरिएको कम्पनीले जनाएको छ।

निशान

निशानको लागि नेपालको आधिकारिक बिक्रेता पायोनियोर मोटोकर्पले दसैँ र तिहारलाई लक्षित गर्दै ‘निशान फेस्टिभ ड्राइभ’ योजना सार्वजनिक गरेको छ ।

यस योजना अन्तर्गत ग्राहकले निशान गाडीको खरिदमा २ लाख ५० हजारसम्म नगद छुट, एक वर्षको बीमा, एक वर्षको रोड ट्याक्स, तीन वर्ष निशुल्क सर्भिसिङ र ती वर्षको वारेन्टी पाउनेछन् ।

फक्सवागन

फक्सवागनको लागि नेपालको आधिकारिक वितरक पुजा इन्टरनेशनलले ‘दसैँ-तिहार भल्कफेस्ट’ योजना ल्याएको छ । यो योजना अन्तर्गत ग्राहकले बिएमडब्लु जी ३१० जिएस, सुजुकी बर्गम्यान स्कुटर र सामसङ ग्यालेक्सी जेड फ्ल्पि ३ मोबाइल जित्न सक्नेछन् । त्यस्तै ग्राहकलाई आकर्षक नगद छुट पनि दिइने कम्पनीले जनाएको छ ।

प्रोटोन

प्रोटोनको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले चाडपर्वको अवसरमा दक्षिणा ‘दसैँ–दक्षिणा’ योजना ल्याएको छ । योजना अन्तर्गत ग्राहकले प्रोटोनको सागा र एक्स ७० गाडीको खरिदमा ६ लाख रुपैयाँसम्मको अफरयुक्त दक्षिणा पाउन सक्नेछन् ।

जस अन्तर्गत कुनै पनि ब्रान्डको पुरानो गाडीसँग नयाँ प्रोटोन एक्सचेन्ज गरेमा ग्राहकले ५० हजार देखि २ लाख रुपैयाँसम्म एक्सचेन्ज बोनस स्वरुप पाउन सक्नेछन् । यसैगरी पूरै पैसा तिरेर नयाँ सवारी किन्न इच्छुक ग्राहकको लागि यस योजनाले ५० हजार देखि २ लाख ५० पचास हजारसम्म छुटको व्यवस्था गरेको छ ।

प्रोटोन दसैँ–दक्षिणा योजना अन्तर्गत ग्राहकले आकर्षक ब्याजदरसहितको किस्ताबन्दीमा पनि सवारी खरिद गर्न सक्नेछन् । जसका लागि शंकर ग्रुुप अन्तर्गतको जगदम्बा सेभिङ एन्ड क्रेडिट कोओपरेटिभ लिमिटेडले इन–हाउस फाइनान्सिङको सुविधा प्रदान गर्दै आइरहेको छ ।

यीबाहेक नयाँ सवारी खरिदमा ग्राहकले विभिन्न पाटपूर्जा तथा चाहिने उपकरणहरु समेत सित्तैमा पाउने कम्पनीले जनाएको छ । चाडपर्वको अवसरमा अफर समायोजन नगरी प्रोटोन सागाको सुरुआती मूल्य ३७ लाख ९९ हजार राखिएको छ भने प्रोटोन एक्स७० को सुरुआती मूल्य ८६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ ।

डिएफएसके

डीएफएसकेको लागि नेपालको आधिकारिक वितरक कुजु नेपाल प्रालिले दसैँ, तिहार, नेपाल सम्वत र छठपर्वको अवसर पारेर विशेष स्किम ल्याएको छ । डिएफएसके ग्लोरी आई अटो किन्न चाहने ग्राहकले मात्र १५ लाख रुपैयाँ डाउन पेमेन्ट बुझाएर गाडी चढ्न सक्नेछन् । साथै, तीन लाख ५० हजारसम्म नगद छुट, ५० हजार एक्स्चेन्ज बोनस, एक आर्थिक वर्षको वार्षिक कर छुटसमेत दिनेछ ।

नगद छुट लिन नचाहने ग्राहकले इलेक्ट्रिक स्कुटर लिन चाहेमा याडिया ब्राण्डको प्रिमियम इलेक्ट्रिक स्कुटर सी १ एस वा जी ५ वा इलेक्ट्रिक माउन्टेन बाइकमध्ये एउटा छनोट गर्न सक्ने छन् । उक्त स्कुटरको मूल्य ३ लाख ५० हजार रुपैयाँ छ ।

डिएफएसके ग्लोरी ५६० किन्न चाहने ग्राहकले १० लाख रुपैयाँ मात्र डाउन पेमेन्ट गर्दा पनि गाडी लिन सक्ने छन् । कम्पनीले ग्लोरी ५६० मा २ लाख ५० हजार नगद छुट दिनेछ । नगद छुटको सट्टा याडियाको स्कुटर वा माउन्टेन बाइक लिन सक्ने छन् । यो स्कुटर र माउन्टेन बाइकको मूल्य दुई लाख ५० हजार बराबर रहेको कम्पनीले जनाएको छ । ग्लोरी ५६० मा कम्पनीले ५० हजार एक्स्चेन्ज बोनस, एक वर्षको वार्षिक कर जस्ता छुट प्रदान गर्नेछ ।