फिलिपिन्ससँग हार्यो नेपाल

असोज ०२, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, असोज २ : एएफसी महिला एसियन कप–२०२२ छनोटको पहिलो खेलमा नेपाल फिलिपिन्ससँग पराजित भएको छ । शनिबार उज्वेकिस्तानमा भएको खेलमा नेपालले फिलिपिन्ससँग २–१ गोलको हार बेहोरेको हो ।

जेएआर स्टेडियममा नेपालले पहिलो हाफमा अग्रता बनाएको थियो । नेपालका लागि खेलको १० औँ मिनेटमा विमला चौधरीले गोल गरेकी थिइन् , तर दोस्रो हाफमा फिलिपिन्सले नेपालको अग्रता उल्टाउँदै जीत दर्ता गरेको हो ।

फिलिपिन्सले ९०औँ मिनेटमा बराबरी गोल गरेको थियो भने इन्ज्युरी समयमा अर्को गोल थपेको थियो । अहिलेसम्म नेपाल र फिलिपिन्सबीच दुई खेल भएकोमा दुबैमा नेपाल पराजित भएको छ ।

यसअघि सन् १९९९ मा नेपालले एएफसी वुमेन्स च्याम्पियन्सिपमा फिलिपिन्सको सामना गरेको थियो ।

त्यसमा नेपाल ५–० ले पराजित भएको थियो । यससँगै समूह ‘एफ’को नेपालले हारबाट छनोटको सुरुआत गरेको छ ।

फिलिपिन्सले भने तीन अङ्क जोड्दै शीर्ष स्थान कब्जा गरेको छ ।