रूकुम उडेको जहाजका पाइलटले यात्रुलाई ‘ड्युटी सकियो’ भन्दै नेपालगञ्जमा अवतरण गराएपछि…

मङि्सर ०७, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, मंसिर ७ : नेपाल एयरलाइन्सको एक जना पाइलटले आफ्नो ड्यूटी आवर सकिएको भन्दै रुकुम अवतरण गर्नुपर्ने जहाज नेपालगञ्ज अवतरण गरिदिएका छन् ।

पाइलटको सनकका कारण रुकुम उडेका यात्रुलाई नेपालगञ्ज झारेर बिचल्ली पारिएको छ । यो घटना सोमबारको हो । सोमबार नेपाल एयरलाइन्सको ट्विन अटर विमानलाई तीन बजे रुकुम उडान गर्न काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) ले स्वीकृत दिइसकेका थिए ।

त्यसअघि जहाजमा रुकुम जाने सबै यात्रु बसिसकेका थिए । जहाजको ककपिटमा पाइलट पेम्बा शेर्पा बसेपछि एयरहोस्टेजले भनिन्, “हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधिदिनुहोला ।”

जहाज तोकिएको समयमै काठमाडौं एयरपोर्टबाट रुकुमका लागि उड्यो । जहाज रुकुम त उड्यो तर गन्तव्यमा भने पुर्‍याइएन ।

पाइलट शेर्पाले आफ्नो ड्यूटी ४ बजे सकिने र करिब त्यही समयमा जहाज नेपालगञ्ज विमानस्थल माथि पुगेकाले आफ्नो ड्यूटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गरिदिएका हुन् ।

निगम स्रोतले भन्यो, “पाइलटको ड्यूटी सकिएको भन्दै रुकुम जाने जहाजलाई नेपालगञ्जमै अवतरण गरिदिए । उनको सनकका कारण रुकुम उडेका यात्रुले सास्ती भयो । यात्रुलाई होेटेलमा राख्नुपर्दा निगमलाई आर्थिक नोक्सानी ।”

यता, नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले पाइटलको ड्यूटी आवर एवम् मौसमका कारण रुकुम उडेको जहाज नेपालगञ्ज अवतरण भएको बताए । निगमका अनुसार नेपालगञ्ज अड्किएका यात्रुलाई मंगलबार विहान रुकुम पुर्‍याइएको छ ।