‘यात्रुलाई सोधेरै नेपालगञ्जसम्म लगिएको हो’

मङि्सर ०८, २०७८

एटुजेड अनलाइन खबर


काठमाडौं, मंसिर ८ : दिउँसो मौसममा सुधार आएपछि निगमले २ः१५ का लागि उडान तय गरेर यात्रुलाई फोन गर्‍यो। वायु सेवा निगमकी निर्देशक अर्चना खड्काका अनुसार, बिहान फर्किएका यात्रु समयमै विमानस्थल आइपुगेनन्। उनी भन्छिन्, “सबै यात्रुलाई कुरेर पुनः उडान गर्दा दिउँसो २ बजेर ५८ मिनेट गयाे।”

निगमसँग दुईवटा ट्वीनेटर छन्। निगमले दुवैलाई नियमित तालिका अनुसार नभई यात्रुको चाप हेरेर देशभर उडान गराउँदै आएको छ।

उक्त जहाजकाे रुकुम पुगेर नेपालगञ्ज फर्किने तालिका थियो। रुकुमका लागि आठ यात्रु थिए। खड्काका अनुसार, पाइलटको ड्यूटी आवरको प्रेसरले गर्दा काठमाडौंबाट सल्ले पुगेर विमान नेपालगञ्ज फर्किन नसक्ने भयो। काठमाडौं–सल्ले उडान समय ५० मिनेटको हो।

हवाई उडान सम्बन्धी नियामक निकाय अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनले पाइलटको दैनिक ड्यूटी अवधि १० घण्टा वा १० अवतरणको सीमा निर्धारण गरेको छ। खड्का भन्छिन्, “सोही अनुसार, बिहानको उडान रद्द भए पनि पाइलट पेम्बा शेर्पाको ड्यूटी बिहान ६ बजे शुरू भएको थियो। सो अनुसार, पाइलटको ड्यूटी समय अपराह्न ४ बजे पूरा हुने थियो।”

सोही कारण सल्लेका लागि नभएर नेपालगञ्जका लागि उडाइएको निगमको भनाइ छ। यात्रुसँग सरसल्लाह गरेरै काठमाडौंबाट उडाइएको निर्देशक खड्काले बताइन्।

निर्देशक खड्का ५ मंसीरमा नेपालगञ्ज उडान नगरेको भए भोलिपल्टको उडान पनि बिथोलिने बताउँछिन्। “सो दिन नेपालगञ्जसम्म नउडाएको भए भोलिपल्ट मध्यपश्चिमका विभिन्न जिल्लामा तय भएका सबै उडान प्रभावित हुन्थे।”

विमान कम्पनीका कारण गन्तव्यमा पुग्न नपाएपछि यात्रुको व्यवस्थापन सम्बन्धित कम्पनीले नै गर्नुपर्छ। सोही कारण रुकुमका यात्रुलाई नेपालगञ्जमा बस्ने व्यवस्था निगमले नै मिलाएको थियो।

विमानका यात्रु बेगम केसी पनि निगमले आफूसँग सोधेर उडान भरेको बताउँछन्। “म र जहान (श्रीमती)ले सल्लेका लागि टिकट काटेका थियौं,” हिमालखबरसँग उनले भने, “नेपालगञ्ज पुगेर होटलमा उसैले (निगमले) राख्छु भनेपछि हामी दिउँसो एअरपोर्ट गएका थियौं।”

केसीले सो दिन पौने ४ बजेतिर नेपालगञ्ज पुगेको र भोलिपल्ट बिहान ८ बजे नेपालगञ्ज–सल्ले उडान गरेको जानकारी गराए।