सहमति नहुने हो भने अध्यक्षमा दर्जनौँले उम्मेदवारी दिनुपर्छ

मङि्सर ०८, २०७८

एटुजेड अनलाइन खबर


चितवनमा १०–१२ मंसिरसम्म हुन लागेको नेकपा (एमाले)को १०औँ राष्ट्रिय महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ । केन्द्रीय नेताहरू जिल्ला आउन थालेका छन् । मञ्च निर्माण, प्रचारप्रसार लगायतका कामहरूलाई तीव्र बताइएको छ ।

यसै सन्दर्भमा महाधिवेशनको तयारी र प्रचारप्रसारबारे जानकारी लिन बुधबार चितवन आएका एमाले सचिव एवं १०औँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईसँग कुलप्रसाद काफ्लेले गरेको कुराकानी :

१०औँ महाधिवेशनको तयारी कसरी हुँदै छ ?

हाम्रो तयारी राम्रोसँग भइरहेको छ । तयारी हेर्दा पाँच लाखभन्दा पनि बढी मान्छे आउन सक्छन् । गाडी र बाटोको पर्याप्तता छैन, तर पनि ठूलो जनपरिचालन, ठूलो प्रदर्शनसहित नेकपा एमालेको महाधिवेशन उद्घाटन हुन्छ ।

प्रतिनिधिहरूको सन्दर्भमा भन्नुपर्दा हाम्रो जम्मा प्रतिनिधिहरूको संख्या मनोनीतसहित दुई हजार २९७ हुन्छ । ती प्रतिनिधिलाई तीन दिनसम्मको लागि आवास र खानाको व्यवस्थापन गरिएको  छ । होटेलसँग सम्झौता पनि भइसकेको छ । प्रतिनिधिलाई १० मंसिर बेलुकीदेखि व्यवस्थापन हुन्छ ।

१० मंसिरमा केन्द्रीय कमिटीको बैठक पनि चितवनमै हुन्छ । त्यसपछि देशभर माहोल सिर्जना भएको छ । ठाउँठाउँमा स्वागत द्वार बनेका छन् । मोटरसाइकल र्‍याली पनि भएका छन् । विभिन्न रचनात्मक कार्यहरू पनि स्थानीय कमिटीहरूले गरिराख्नु भएको छ । यसरी हामी तयारीको अन्तिम अवस्थामा छौँ ।

एमालेको विगतका महाधिवेशन र १०औँ महाधिवेशनमा खास के फरक छ ?

आज नेकपा एमाले कसको निरन्तरता हो ? कसको लिगेसी यसले बोकेको छ ? भन्ने कुरा कतिपयले बहस गरिरहेका छन् । हामीले भनेका छौँ, नेकपा एमाले २००६ सालमा स्थापित भएको नेपाल कम्युनिष्ट पार्टीको निरन्तरता हो । त्यसका संस्थापक पुष्पलाल, पुष्पलालले जुन उद्देश्यले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्नुभयो । उहाँको विचार, उहाँको उत्तराधिकारी पार्टी नेकपा एमाले हो ।

अर्काे कुरा, नेपालमा विश्व कम्युनिष्ट आन्दोलनको विभाजनसँगै ३० को दशकबाट दुईवटा कम्युनिष्टका धार आए । एउटा झापा आन्दोलनसँग कोअर्डिनेशन केन्द्र, नेकपा माले हुँदै २०४७ सालबाट हामी अगाडि आयौँ । एउटा त्यो धार हो । त्यसले एउटा मूलतः शान्तिपूर्ण जनसंघर्षमा आफूलाई अगाडि बढायो ।

अर्को ३० को दशकदेखि नै चौथो महाधिवेशन, मसाल, एकता केन्द्र हुँदै माओवादीसम्मको धार छ । त्यो धारले विगतमा सशस्त्र संघर्षको नीति लियो । त्यो धारका कतिपय पार्टीले त्यो नीति परिवर्तन गरिसके । खासगरी प्रचण्ड नेतृत्वले त्यो नीति छोडिसके । त्यसो हुँदा ३ जेठ २०७५ मा प्रचण्ड नेतृत्वको पार्टीसँग पनि हाम्रो पार्टी एकता भयो ।

किनभने उहाँहरू पनि शान्तिपूर्ण बाटोमा, वैधानिक बाटोबाट नै समाजवादसम्म पुग्ने लक्ष्य लिएर आउनुभयो । त्यसकारण नेकपा एमालेले १०औँ महाधिवेशनबाट यो कुरा अझ स्पष्ट गर्न चाहन्छ कि हामी पुष्पलालले गठन गरेको कम्युनिष्ट पार्टीको पनि निरन्तरता हौँ भने ३ जेठ २०७५ को पार्टी एकतापछिको पनि हामी निरन्तरता हो ।

त्यसो हुनाले आजको दिनमा नेकपा एमाले नेपालको कम्युनिष्ट आन्दोलनको मूल प्रवृत्ति हो । मूलधार हो । प्रमुख दल हो भन्ने कुरा यो महाधिवेशनबाट स्पष्ट गर्न चाहन्छौँ । अर्काेतिर नेपालको कम्युनिष्ट आन्दोलनमा विभिन्न ढंगबाट महत्वपूर्ण योगदान गर्ने नेता हुनुहुन्छ ।

पुष्पलाल, लोकप्रिय सरकारको थालनी गर्ने मनमोहन अधिकारी र जनताको बहुदलिय जनवाद जस्तो विचार बोकेर नेपाली जनतामा लोकप्रिय नेता हुने मदन भण्डारी । उहाँहरू लगायत हिजोका अघिल्लो पुस्ता जसले नेपाली नेपालको कम्युनिष्ट आन्दोलनको निर्माणमा योगदान पुर्‍याउनुभयो । त्यो पुस्ताको समेत हामीले लिगेसी बोकेका छौँ ।

महाधिवेशनको मुखमा आइपुग्दा पनि उम्मेदवारी घोषणाको सरगर्मी नै देखिँदैन । एमाले कतै प्रजातान्त्रिक प्रणाली छोडेर टीका लगाउने प्रथामा गएको त हैन ?

एमालेजस्तो लोकतान्त्रिक अभ्यास गर्दै आएको पार्टीमा टीका लगाएर नेतृत्वमा आउने सम्भावना त शून्य प्रतिशत पनि छैन । प्रतिस्पर्धा हुन्छ । बाकसमा मत हाल्ने कि कामबाट प्रतिस्पर्धा गर्ने कि,  योग्यता क्षमताले नेतृत्वमा आउने भन्ने प्रश्न महत्वपूर्ण छ ।

प्रतिस्पर्धाका विभिन्न उपायहरू हुन्छन् । तर, एमालेमा कसैले तानेर माथि ल्याउने र कसैले ठेल्दिएर माथि ल्याउने कुरा एमालेमा हुँदैन । त्यो नचिताए पनि हुन्छ । त्यसरी पार्टी चल्दा पनि चल्दैन र एमाले जाँदा पनि जाँदैन ।

त्यसरी एमाले गएको भएदेखि अरू कम्युनिष्ट पार्टीहरू क्रमशः सकिँदै गए, उनीहरूको अस्तित्व विलीन हुँदै गयो । एमाले त्यस्तै हुने थियो । तर, एमाले आज जनताको बीचमा लोकप्रिय मात्र छैन, सरकार चलाएको छ । अन्तर्राष्ट्रिय लेभलमा यति ठूलो सम्बन्ध विस्तार गरेको छ । यो पार्टीमा नेतृत्व विकासको काम पनि प्रतिस्पर्धाबाट हुन्छ । त्यो मर्यादित र स्वस्थ हुन्छ ।

अध्यक्षमा भीम रावलबाहेक अरूको उम्मेदवारी घोषणा भएको छैन । यसको मतलब अब उहाँ नै सर्वसम्मत भन्ने हो ?

पार्टीले सकेसम्म सहमतिमा नेतृत्व निर्माण गरौँ भन्ने सोच बोकेको छ । पार्टी अध्यक्षको पनि मुड पुनः नेतृत्वमा आउने देखेको छु । सहमतिमा पुग्न सकेनौँ भने पनि प्रतिस्पर्धाको ढोका खुला छ । त्यो अवस्थामा दुई जना मात्र होइन, दर्जनौँ नेताहरूलाई अध्यक्षमा उम्मेदवारी दिन म आह्वान गर्छु ।

यत्रो पार्टीमा अध्यक्ष बन्छु भनेर दावा पेस गर्न आउनुपर्‍यो । ५०औँ वर्ष राजनीति गरेको हुँ भन्ने नेताहरूले अध्यक्ष हुन्छु, देश चलाउँछु भनेर दावा पेस गर्न आउनुपर्‍यो नि ! त्यो क्रममा यदि कोही नेताको नाममा सर्वसम्मत भएछ भने अरुले त्याग गर्न पनि सक्नुपर्‍यो ।

चुनाव नै भयो भने त माओवादीबाट आउने नेताहरूलाई सकस पर्छ भनिन्छ नि ?

यस्तै कुरा २०४९ सालको पाँचौँ महाधिवेशनमा पनि उठेको थियो । तत्कालीन मार्क्सवादीबाट आएकाहरू सबै हार्छन् कि भन्ने तत्कालीन मालेबाट आएकाहरूमा बहस थियो । तर, मार्क्सवादीबाट आउनु भएका मनमोहन अधिकारी अध्यक्ष हुनुभयो । भरतमणि अधिकारी वरिष्ठ नेता हुनुभयो । सहाना प्रधान, कमल कोइरालालगायतका दर्जनौँ नेताहरू ससम्मान नेकपा एमालेको नेता हुनुभयो । नेकपा एमालेभित्र के विशेषता छ भने यसले सबैलाई समेट्छ । यसले कसैलाई पनि टाढा लेखेट्दैन । सबैलाई समेट्न सक्ने समुद्र हो । तर, कहिलेकाहीँ छाल आउन सक्छ, सबैलाई अटाउने प्रयास गर्नुपर्छ । – न्युज कारखाना